सशस्त्र प्रहरीका गोताखोरको निःशुल्क दुर्घटना बीमा

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक कार्यक्रममा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो।

सशस्त्र प्रहरी बलका गोताखोरहरूको बीमा गर्ने कार्य २०७४ देखि शुरू गरिएको हो। सो बीमा प्रतिव्यक्ति दुई लाख रूपैयाँ बराबरको छ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै महत्त्वपूर्ण रूपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आइरहेको बताए। उनले थप १९ जना व्यावसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको जानकारी दिए।

कार्यक्रममा गोताखोर तालिम प्राप्त ३८ जना सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूकोे निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र हस्तान्तरण गरियो।

प्रतिक्रिया दिनुहोस्