मन्त्री भट्टराईद्वारा निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण
पोखरा। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन्।

त्यसक्रममा मन्त्री भट्टराईले विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणबारे चासो देखाएका थिए।

हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका समस्याबारे जानकारी लिँदै उनले तोकिएकै समयभित्र विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए।

मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिए।

१० जुलाई २०२१ सम्म निर्माण सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा नै सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ ।

रन वे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा ११ जुलाई २०१७ बाट निर्माण कार्य शुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत २२ अर्ब रूपैयाँ रहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्