थ्री स्टार दोस्रो स्थानमा उक्लियो

काठमाडौं। अनन्त तामाङले शुरूमै गरेको गोलमा थ्री स्टारले आज सशस्त्र प्रहरी बल (एपीएफ)लाई १–० हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

अनन्तले १५औं मिनेटमा गरेको गोल थ्री स्टारलाई जिताउन पर्याप्त भयो। अनन्तले मिक्चेन तामाङको फ्रिकिकलाई पोष्टको दिशा दिएका थिए। एपीएफका नवीन लामाले सुशन श्रेष्ठलाई फाउल गरेपछि थ्री स्टारले फ्रिकिकको अवसर पाएको हो।

जितसँगै थ्री स्टार तीन खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको थियो। तेस्रो चरणको खेल सकिँदा सतप्रतिशत जित निकालेको मनाङ मस्र्याङ्दी ९ अंकका साथ शीर्ष स्थानमा छ।

समान ६ अंक जोडेको मछिन्द्र र त्रिभुवन आर्मी क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन्। मछिन्द्रले पनि दुई खेलमा जित र एक बराबरी खेलेर सात अंक जोडेको छ। तर, गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा रहेकाले मछिन्द्रको एक अंक घटाइएको छ।

गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टोलीको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले यसपटक मछिन्द्रको एक र एनआरटीको दुई अंक घटाइएको छ।

८४औं मिनेटमा मिक्चेन तामाङको फ्रिकक क्रसबारमा लागेर फर्किंदा थ्री स्टारले अग्रता दोब्बर बनाउने मौका गुमायो। हारपछि एपीएफ भने एक अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ। सरस्वती युथ र फ्रेण्ड्स क्लबले अहिलेसम्म अंक जोड्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्