उज्यालो हेर्न आँखा चाहिने भन्दै कुलमानले गरे आँखा दान गर्ने घोषणा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृत्युपश्चात आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् ।

आज तिलगंगा आँखा प्रतिष्ठानले मरणोपरान्त आँखाको नानी दान गर्नेहरुको स्मरणमा आयोजना गरेको सामुहिक श्रद्धाञ्जलि सभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आँखा नहुँदा उज्यालोको महत्व नहुने भएकाले अरू कसैले उज्यालो देख्न पाओस भन्ने उद्देश्यले मृत्युपश्चात आँखा दान गर्न आफू तयार भएको उनले बताए ।

उनले भने, “बत्तीको उज्यालो आँखा भएन भने हेर्न सकिदैन । प्रकाशको उज्यालो हेर्न आँखा चाहिन्छ । यो पूण्य काममासहभागी हुन पाएकोमा खुशी छु ।”

नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्ने व्यक्तिहरुको सम्झना र सम्मानमा तिनका परिवारहरुको उपस्थितिमा सामुहिक श्रद्धाञ्जलि–सभा आयोजना गर्दै आएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले २५ वर्ष अगाडि एक जनाले दान गरेर शुरु गरिएको आँखा दान कार्यक्रममा अहिले हजारौको सहभागीता भएको बताए।

डा. रुइतले अरूलाई पनि आँखा दानमा सहभागी हुन अनुरोध गर्दै भने, “आँखा दान गर्ने भनेको आँखाको डल्लो झिक्ने होइन। बाहिरको नानी मात्र झिक्ने हो। मानिसको मृत्युपश्चात झिक्ने हो। यसले धार्मिक र सांस्कृतिक रुपमा कुनै अफ्ठ्यारो पार्दैन ।”

प्रतिक्रिया दिनुहोस्