कांग्रेस नेता पौडेलले भने– ‘पार्टी र सरकारसँग एकसाथ लड्नुपर्ने भयो’
<p>काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकले बहुमतका आधारमा गरेका निर्णयहरू खारेज गर्न माग गरेका छन्। आज कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठकपछि वरिष्ठ नेता पौडेलले यसअघि महासमितिले बनाएको विधानलाई समेत उल्ट्याउने निर्णय गरेको भन्दै खारेज गर्न माग गरेका हुन्।</p>
<p>पौडेल समूहको बहिष्कारकाबीच ११ पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थपेर ७–१० फागुन २०७७ मा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। महाधिवेशनको मिति एक वर्ष धकेलिनुले पार्टीको वैधानिक हैसियत गुम्ने पौडेलले बताए। उनले विधानका महत्त्वपूर्ण धाराहरू निलम्बन गरिएको भन्दै पार्टीलाई कसरी बचाउने भन्ने चिन्ता बढेको बताए।</p>
<p>सरकारले समेत भ्रष्टाचारका गतिविधि अगाडि बढाएको भन्दै पार्टी र सरकार दुवैसँग एकसाथ लडनुपर्ने बेला आएको बताए। उनले गोकर्णको जग्गा, दरबारमार्गको जग्गालगायतमा भएका सरकारको निर्णयको विरुद्धमा समेत लड्ने बताए।</p>
<p>पार्टीभित्रका समस्या समाधान गर्नका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमा छलफल भइराखेको अवस्थामा सहमति नगरी एकलौटी निर्णय भएको भन्दै सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा परेको पौडेलको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्