नेकपा सचिवालय बैठकः प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटाैंडा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सभामुख र एमसीसीबारे निर्णय नगरेरै टुंगिएको छ।

सभामुखकाे उम्मेद्वारकाे टुंगाे अर्काे बैठकले लगाउने महासचिव विष्णु पाैडेलले जानकारी दिए। उनका अनुसार एमसीसीबारे स्थायी समिति बैठक बमाेजिम नै अगाडि बढ्नेछ।

आजको बैठकमा सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन, एमसीसीलगायतका संगठनात्मक विषयमा छलफल गर्ने कार्यसूची राखिएको थियो। तर, समय अभावका कारण कुनै औपचारिक निर्णय हुन नसकेको पौडेलको भनाइ छ।

“हामीले आज केही महत्त्वपूर्ण विषयमा छलफल गर्न चाहन्थ्यौं”, पौडेलले भने, “आवश्यक विषयमा निर्णय गर्न छिट्टै सचिवालय बैठक बस्नेछ।”

प्रदेश ३ काे नाम 'वाग्मती'

सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने गरी प्रदेश कमिटी र प्रदेश सभाको संसदीय दललाई निर्देशन गर्ने निर्णय गरेको छ। प्रदेश ३ मा पार्टीको स्पष्ट बहुमत भएकै कारण नेकपाको सचिवालय बैठकले यस्तो निर्देशन गरेको हो।

सचिवालय सदस्य झलनाथ खनालले पनि देखापढीसँगको कुराकानीमा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको पुष्टि गरे। यद्यपि नेकपाका महासचिव विष्णु पौडेलले भने उक्त निर्णयबारे प्रष्ट खुलाउन चाहेनन्। उनले आजको बैठकमा कुनै औपचारिक निर्णय नभएको बताए।

प्रतिक्रिया दिनुहोस्