मुआब्जा विवाद मिलाउने आश्वासनसँगै अरुण तेस्रोको अवरुद्ध निर्माण कार्य शुरू

संखुवासभा। निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयवासीले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरू भएको छ।

लगानी बोर्डबाट पीडितको समस्या समाधानका लागि आश्वासन पाएपछि स्थानीयवासीले १० पुसदेखि थालेको आन्दोलन फिर्ता लिएका छन्।

बोर्डको १३ पुसमा बसेको ४२ औं बैठकले अरुण तेस्रो जलविद्युत परियोजनाको छ्याङकुटीदेखि दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठन गरिएको छानबिन समितलाई प्राविधिकसहितको थप जनशक्ति उपलब्ध गराई दुई महीनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन गर्ने निर्णय गरेको छ।

स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच मुआब्जाको विवाद चाँडै समाधान गर्ने सहमति भएको छ।

अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि विरोधमा उत्रिएका स्थानीयवासीले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए।

सुरुङ निर्माणको काम ठप्प भएपछि दुई हजार कामदार अलपत्र परेका थिए ।

अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद मिलेको छैन।

यस क्षेत्रका २०० परिवारले मुआब्जा पाएका छैनन्।

छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडक खण्डमा मुआब्जा नपाएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयवासीको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्