प्रशासनको ताकेतापछि रेडक्रसले झिकायो शाखाबाट कागजात

काठमाडौं। प्रशासनले वैधानिकतासम्बन्धी प्रश्‍न उठाउँदै अविलम्ब कागजात पेस गर्न निर्देशन गरेपछि नेपाल रेडक्रस सोसाइटीले मातहतका शाखालाई पत्राचार गरेको छ।

३० असार २०७६ देखि नै संस्था नवीकरण अवधि सकिएपछि अहिले नेपाल रेडक्रस सोसाइटी अवैधानिक रुपमा सञ्चालन भइरहेको छ।

संस्थाको वैधानिकतासम्बन्धी प्रश्‍न उठ्ने भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १ पुसमा पत्र लेखेर ४ वर्षदेखिको कागजात पेश गरेर संस्थाको वैधानिकता कायम गर्न निर्देशन दिएको थियो।

रेडक्रसले सबै जिल्ला शाखामा पत्राचार गरेर नवीकरण प्रयोजनका लागि आवश्यक कागजातहरु माग भई आएकाले २० पुसभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी कागजात पठाउन भनेको छ।

रेडक्रसले पठाएको पत्रमा जिल्ला शाखा तथा शाखा अन्तर्गतको उपशाखाहरुबाट २०७३/७४ देखि २०७५/७६ सम्मको लेखा परीक्षण, कर दाखिला रसिद र सोही अवधिको आय-व्यय साधारणसभाबाट पारित गरेको प्रमाणित प्रतिलिपी मागिएको छ।

त्यस्तै सहयोग प्राप्त गरी कार्यक्रम गरिएको प्रत्येक जिल्लाको स्थानीय अधिकारी र स्थानीय तहको सिफारिस पत्र लगायतका कागजात पनि रेडक्रसले आफ्ना शाखा र उपशाखासँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्