फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, ९ अझै बेपत्ता

फिलिपिन्स। फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। अधिकारीहरूले दिएको जानकारी अनुसार आजसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरू ९ जना अझै हराइरहेका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरूको कूल संख्या ४७ पुगेको हो।

परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा पाँचजना, अक्लानमा पाँचजना, सेबु र दक्षिणी लेयाटमा एक/एकजना, लेयाटमा पाँचजना, विलिरनमा एकजना, पूर्वी सामरमा पाँचजना, सामरमा एकजना, ओरियन्टल मिन्डोरोमा पाँचजना र अक्सीडेन्टल मिन्डोरोमा दुईजनाको मृत्यु भएको छ।

घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरूको मृत्यु भएको जनाएका छन्।

हजाराैं व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरूलाई सहयोगको आवश्यकता भएको बताइएको छ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो।

कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन्। त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो। (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्