अब कैदीलाई जागिर !

काठमाडौं। कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्।

जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानून सरकारले संसद्मा दर्ता गरेको छ।

कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ। यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछन्।

विधेयकअनुसार जागिर खानेले एक महीनामा पाँच दिनबराबर कैद सजाय छुट पाउनेछन्।

उनीहरूले कारागार परिसरभित्र स्थापना गरिएका कारखानामा मात्र जागिर पाउनेछन्।

यद्यपि उनीहरूलाई पछि विकास निर्माणको काममा पनि लगाउने कारागार व्यवस्थापन विभागका अधिकारीहरूको भनाइ छ।

नियमावलीमार्फत असल चालचलन भएका कैदीलाई विकास तथा सामाजिक काममा खटाउने विभागको तयारी रहेको आजको नयाँ पत्रिकामा समाचार छ।

नयाँ विधेयकमा पहिलोपटक कैदीलाई काममा लगाउन सकिने प्रावधान राखिएको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए।

विधेयकको दफा २६ को उपदफा ३ मा बन्दीलाई काममा लगाउनेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ।

सोहीअन्तर्गत अन्य काममा लगाउनेबारे विभागले छलफल थालेको जनाएको छ ।

धेरै देशमा कैदीलाई सजायस्वरूप विकासका काममा लगाइने गरिएको छ।

नेपालमा भने उनीहरूलाई सुधारका लागि भनेर यस्तो कार्यक्रम ल्याइएको छ। खासगरी खुला कारागारको अवधारणाा लागू गरेर उनीहरूलाई जागिरको अवसर दिन लागिएको विभागले जनाएको छ।

नेपालमा ७४ वटा कारागार छन्। जहाँ करीब २४ हजार थुनुवा छन्।

कैदीको अनुशासन र अपराधको प्रकृति हेरेर सुरक्षाकर्मीको निगरानीमा हुने गरी विकास निर्माणमा खटाउन लागिएको छ।

धेरैजसो पैसाकै लागि अपराधमा लाग्ने भएकाले आयआर्जनमा लागे उनीहरू फेरि अपराधमा नफर्कने प्रहरी अधिकारीहरूको समेत सुझाब छ।

प्रतिक्रिया दिनुहोस्