चन्द समूह र प्रहरीबीच फायरिङ

सुर्खेत। पञ्चपुरी नगरपालिकामा प्रहरी र नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबीच दोहोरो फायरिङ भएको छ। दिउँसो करीब साढे २ बजे चन्द समूहका कार्यकर्ताले सादा पोशाकका प्रहरी देखेपछि फायर खोलेका थिए।

चन्द समूहका कार्यकर्ताले तीन राउण्ड फायर गरेका थिए। प्रहरीले भने दुई राउण्ड फायर गरेको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले जानकारी दिए।

“चन्द समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएका बेला फायरिङ भएको हो”, उनले भने। चेनेरीताल जंगल भएकाले उनीहरू भाग्न सफल भएको खत्रीले बताए।

चन्द समूहका नेता शाही घर आएको खबर पाएपछि प्रहरीले उनलाई पक्राउ गर्ने योजना बनाएको थियो। योजनाअनुरूप दुईजना सादा पोशाकका प्रहरी खटिएका थिए। नजिकै रहेको प्रहरीको टोली सादा पोशाकका प्रहरीको खबर पर्खिरहेको थियो। तर, नेटवर्कले काम नगर्दा सञ्चार हुन पाएन।

“एक–डेढ घण्टा पिछा गरिसकेपछि सादा पोशाकका प्रहरीले नेटवर्क नहुँदा हामीलाई खबर गर्न पाएनन्,”, खत्रीले भने, “प्रहरी भन्ने थाहा पाएपछि चन्द समूहका नेता, कार्यकर्ताले आफू उम्कनका लागि फायर खोलेका हुन्।”

प्रतिक्रिया दिनुहोस्