धमाधम बन्दै कोशी करिडोर प्रसारणलाइन

खाँदबारी। संखुवासभाका स्थानीय खोलाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा संकलन गर्ने उद्देश्यले निर्माण थालिएको २२० केभी क्षमताको कोशी करिडोरअन्तर्गतका विद्युत् प्रसारणलाइनको काम धमाधम भइरहेको छ।

सुनसरीको इनरुवादेखि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारसम्मको १०५ किलोमिटरको सो काममा विद्युत प्राधिकरणको लगानी छ।

कोशी करिडोर प्रसारणलाइन प्रदेश १ को संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको छ।

इनरुवादेखि तुम्लिङटारसम्म ३२१ वटा टावर निर्माण भइरहेको कोशी करिडोरका सहायक प्रबन्धक भूपेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार त्यसमध्ये संखुवासभाको दक्षिणी सिमाना टुटे देउरालीदेखि तुम्लिङटारसम्मको २९ दशमलव पाँच किमि लम्बाइमा ९७ वटा टावर निर्माणको ६० प्रतिशत काम सकिएको छ।

९७ वटा टावरमध्ये अहिलेसम्म ५४ टावर निर्माण सकिएका छन्। २७ टावरको जग खनिएको छ।

बाँकी १६ टावर निर्माणको काम चाँडै थालिने र चैनपुरको बानेश्वर र तुम्लिङटारमा सवस्टेसनको काम भइरहेको छ।

संखुवासभाको माया खोला, हेवा खोला र इखुवा खोलालगायत स्थानीय खोलानालाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा संकलन गरी केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले कोशी करिडोर प्रसारण लाइन बनाइएको हो ।

विद्युत् प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता (पिपिए) गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्