विद्युत चुहावट नियन्त्रणबाट प्राधिकरणको वार्षिक सात अर्ब थप आम्दानी

काठमाडौं। विद्युत प्राधिकरणले तीन वर्षमा १० दशमलब ४६ प्रतिशत विद्युत चुहावट नियन्त्रणबाट मात्र वार्षिक करीब सात अर्ब रुपैयाँ थप आम्दानी गरेको छ।

विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधार गर्न नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका १३८ कार्यालय प्रमुखहरुले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन्।

प्राधिकरणले आव २०७६/७७ मा वितरणतर्फको विद्युत चुहावट आठ दशमलब ५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

गत आर्थिक वर्षमा वितरणतर्फको ११ दशमलब २८ प्रतिशतको चुहावटलाई दुई दशमलब ७८ प्रतिशत विन्दुले घटाएर आठ दशमलब ५० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको हो।

तीन वर्षअघिसम्म विद्युत् चुहावट २५ दशमलब ७८ प्रतिशत रहेकोमा गत आवसम्ममा १५ दशमलब ३२ प्रतिशतमा झारिएको छ।

चालू आर्थिक वर्ष २०७६/७७का लागि प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका १२९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको छ।

प्राधिकरण व्यवस्थापनसँग १९ पुसमा प्रदेश ५ को प्रादेशिक कार्यालय बुटवलका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेसँगै यस आर्थिक वर्षका लागि वितरण तथा ग्राहक सेवातर्फको कार्यसम्पादन सम्झौता सकिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरुले र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले कार्यसम्पादन सम्झौता गरेका हुन्।

कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्