पाम आयल निर्यातमा अस्वाभाविक वृद्धिपछि भारतले सोध्यो- 'पाममा मूल्यवृद्धि कति प्रतिशत छ ?'

काठमाडौं। प्रशोधित पाम आयलको निकासी बढेपछि भारतले चासो देखाएको छ। नेपालमा उत्पादन नै नहुने आयातित पाम आयलको निकासी गत वर्षदेखि एकाएक बढेको थियो।

निकासीमा वृद्धिसँगै भारतले नेपाललाई पाम आयलमा कति प्रतिशत मूल्यवृद्धि भएको छ भनेर प्रश्न गरेको छ। भारतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो प्रश्न गरेको हो।

परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले सोधेको छ– ‘बाह्य मूलुकबाट आयात गरिएको पाम आयल प्रशोधनपछि भारत निर्यात हुँदा कति प्रतिशत मूल्यवृद्धि भएको छ ?’

भारतको यस्तो प्रश्नपछि मन्त्रालयले आयातित पाम आयलमा भएको मूल्यवृद्धि निकाल्न एउटा कार्यदल गठन गरेको थियो।

कार्यदलले पाम आयल प्रशोधन गरेर भारत निकासी गर्ने प्रशोधन उद्योगहरुको स्थलगत भ्रमण गरेर प्रतिवेदन नै तयार पार्‍यो।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भारतलाई उक्त प्रतिवेदन पठाइसकेको देखापढीलाई बताए।

उनले भारतीय पक्षलाई नेपालमा रहेका प्रशोधन कम्पनीहरुको अवलोकनका लागि समेत बोलाइएको जानकारी दिए।

अर्यालले भने, “उनीहरु (भारतीय पक्ष)ले चाहेमा नेपाल आएर पाम आयल प्रशोधन तथा निकासी गर्ने उद्योगहरुको अवलोकन गर्न सक्छन्।”

मन्त्रालयले गरेको अध्ययनबाट पाम आयल प्रशोधन गरेर निकासी गर्दा हुनुपर्ने आवश्यक मूल्यवृद्धि भएको पाइएको छ।

बाह्य मुलुकबाट आयात गरेर सार्क मुलुकमा निर्यात गर्दा २० प्रतिशत मात्रै मूल्यवृद्धि भए पुग्छ। तर, आयातीत पाम आयलको निकासीमा त्योभन्दा बढी मूल्यवृद्धि हुँदै आएको छ।

मन्त्रालयका वाणिज्य उपसचिव नवराज ढकालले कच्चा पाम आयललाई प्रशोधनपछि भारत निकासी गर्दा ३० प्रतिशत मूल्यवृद्धि भएको बताए।

उनले भने, “नेपाली उद्योगहरुले प्रशोधन गर्दा साउथ एसियन फ्रि ट्रेड एरिया (साफ्टा)को नियमअनुसार नै गरेका छन्।”

बढ्दो निर्यात

भारत मूख्य बजार रहेको पाम आयलको निर्यात दुई बर्षपहिले शून्य थियो।

तर, गत वर्ष एकाएक यसको निर्यातमा वृद्धि देखियो। गत आर्थिक वर्ष (आव) २०७५/७६ मा कुल १० अर्ब ३३ करोड रुपैयाँको निर्यात भएको थियो। तर, सोही वर्षको शुरुको पाँच महिनामा यसको निर्यात १ अर्ब ३४ करोड थियो।

चालू आर्थिक वर्षको शुरुको पाँच महिनामा भने पाम आयलको निर्यातले गत वर्षको कुल निर्यातलाई पनि पछि पारिसकेको छ। यस वर्ष पाँच महिनामा ११ अर्ब ७९ करोडको पाम आयल निर्यात भइसकेको छ।

यही अनुपातमा निर्यात बढे यस वर्ष पाम आयलले नेपालको निर्यातको ठूलो हिस्सा ओगट्ने निश्चित छ। यस अवधिमा नेपालबाट निर्यात भएको सबै पाम आयल भारत गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

छ देशबाट हुन्छ आयात

नेपालमा उत्पादन नै नहुने पाम आयल छ देशबाट आयात हुँदै आएको छ। इण्डोनेसिया, मलेसिया, पपुवा न्युगिनि, सिंगापुर, चीन र भारतबाट समेत नेपालमा पाम आयल भित्रिन्छ।

नेपालमा सबभन्दा बढी ९ अर्ब ६९ करोडको पाम आयल इण्डोनेसियाबाट आयात हुँदै आएको छ। यस्तै, मलेसियाबाट ५९ करोड, पपुवा न्यूगिनिबाट १४ करोड, सिंगापुरबाट ३ करोड र चीनबाट १ करोडको आयात हुँदै आएको छ।

भारत र चीनबाट प्रशोधित पाम आयल भित्रिँदै आएको छ। तर, त्यसबाहेक चार देशबाट कच्चा र प्रशोधित दुवै पाम आयल नेपाल भित्रिएपनि ९० प्रतिशत हिस्सा कच्चा आयलले ओगट्छ।

यी सबै देशबाट नेपालमा पाँच महिने अवधिमा १० अर्ब ४८ करोड रुपैयाँको पाम आयल आयात भएको छ।

‘देशको हितमा छैन’

पाम आयलको आयात तथा भारततर्फ निर्यात आकाशिनुमा नेपालमा यसको आयात महशुल भारतभन्दा सस्तो हुनु र त्यसको फाइदा व्यापारीहरूले उठाउनु हो।

सुपारी र मरीचमा जस्तै यसमा पनि नेपाली व्यवसायीले भारतको आयात नीतिको छिद्रमा खेल्दै भन्सार दर (ट्यारिफ डिफरेन्स) को फाइदा उठाएको स्पष्ट देखिन्छ।

पाम आयलको निकासी बढ्दा नेपाललाई फाइदा नभई बरु घाटा हुने देखिन्छ। आयातित वस्तुको निकासी एक्कासी बढ्दा नेपाल–भारत व्यापार सम्बन्धलाई नै बिगार्ने सम्भावना आउन सक्छ।

तत्कालका लागि फाइदा भएपनि भारतले नेपाली व्यवसायी र नेपाल सरकारलाई अविश्वास गर्न सक्ने विज्ञहरु बताउँछन्। यसको निकासी बढ्दा नेपालका सीमित व्यापारीलाई फाइदा पुग्ने उनीहरुको तर्क छ।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोमेन्टका अध्यक्ष पोषराज पाण्डेले पाम आयलको निकासी बढ्दा नेपालीलाई फाइदा नभएको बताए।

उनले भने, “पाम आयलको निकासी बढ्दा नेपाल–भारत व्यापार सम्झौतामार्थि नै प्रश्न चिन्ह उठ्न सक्छ, त्यसैले केही व्यक्तिलाई फाइदा भएपनि यो वृद्धि समग्र देशको हितमा छैन।”

पाम आयल निर्यात गर्ने व्यवसायी आनन्द बगारियाले ‘भारतले नेपाललाई कृषिक्षेत्रमा दिँदै आएको छूटको प्रयोग गरेर पाम आयल निर्यात हुँदै आएको’ बताउँदै भने, “नेपालसहित बंगलादेश र श्रीलंकाले पनि यस्तै गरिरहेका छन्।”

नेपालमा पाम आयलको आयातमा भन्सार दर १० प्रतिशत छ। तर, भारतले आसियान मुलुकबाट यसको आयातमा ४० प्रतिशत भन्सार लगाउँछ।

यही सस्तो भन्सार दरको फाइदा उठाउँदै साफ्टाको अधिकार प्रयोग गरेर भारतमा पाम आयल निर्यात भएको भन्सार विभागका अधिकारीहरूको तर्क छ।

पछिल्लो समय कश्मिरको मुद्दालाई लिएर मलेशिया तथा भारतबीच मतभेद बढ्दा भारतका पाम आयल आयातकर्ताले मलेशियाबाट पाम आयल आयात नगर्ने घोषणा गरेका थिए।

जसको प्रत्यक्ष प्रभाव यस पाँच महिनामा देखिएको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए। उनले भने, “त्यस अर्थमा आयातित पाम आयल र सोयाबिनले थेगेको निर्यातलाई दीर्घकालीन भन्न मिल्दैन।”

प्रतिक्रिया दिनुहोस्