प्रदेश ३ राजधानी विवाद: नेकपामा फ्लोर क्रसको त्रास
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न आन्तरिक विवाद साम्य पार्न नेताहरूले प्रयास थालेका छन्।

नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी ‘हेटौंडा’ र नाम ‘बागमती’ प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद देखिएको आजको नागरिक दैनिकले समाचार लेखेको छ।

“मंगलबार अध्यक्षद्वय र प्रदेशका नेताहरूबीच तीन घण्टा लामो छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्ने गरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको सम्भावना रहेको छ”, बैठकपछि स्रोतले भन्यो, “अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी ‘हेटौंडा’ र नाम ‘बागमती’ नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ।”

नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा नेताहरूलाई सांसदले उठाएका सबै प्रश्न सुनाइएको थियो।

“रामेछाप, दोलखा, रसुवालगायतका जिल्लाका सांसदले के भनेका छन्, उनीहरूलाई नयाय भयो की भएन भन्नेबारेमा नेताहरूलाई सुनाइएको थियो। उहाँहरूले गल्ती भयो भन्ने महशुस गरे पनि पार्टीको निर्णय भएकाले पछाडि फर्किन नसकिने बताउनुभयो”, शाक्यले भनिन्।

नेकपाका प्रदेशसभा सांसदले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयको निर्देशन नमान्ने बताएपछि नेताहरू संसदीय दलको बैठक रोकेर काठमाडौं आएका थिए।

यसैबीच नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयले दिएको सल्ला कार्यान्वयन गर्ने दायित्व सांसदहरूको भएको भन्दै मतदान प्रक्रियाबाट प्रदेश ३ को नाम र राजधानी टुंग्याउन प्रदेशका पदाधिकारीहरूलाई निर्देशन दिएको आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले धेरै विषयमा अध्ययन गरेर निर्णय लिइएको बताउँदै यसलाई माथिबाट लादेको रूपमा नलिन भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्