प्रदेश ३ को नाम र राजधानीबारे छलफल शुरू : कसले के भने ?

हेटौंडा। प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि आजदेखि छलफल शुरु भएको छ। समितिका सभापति दीपक निरौलाद्वारा प्रदेश सभामा पेश गरिएको अध्ययन प्रतिवेदनमाथि समिति सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

प्रदेश सभा सदस्य शशी जंग थापाले भक्तपुर राजधानी तोक्न माग गरेका छन्। प्रदेशभित्रका १३ जिल्लाको आकर्षणको केन्द्र भक्तपुर भएकाले पनि त्यहाँ राजधानी तोकिनुपर्ने उनको तर्क थियो। जग्गाजमिन र भौतिक पूर्वाधारको पर्याप्तता तथा केन्द्रीय राजधानीसँगको निकटताका कारण पनि भक्तपुर राजधानीका लागि उपयुक्त हुने थापाको भनाई थियो।

प्रदेश सभा सदस्य बलराम पौडेलले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले हेटौंडाको इतिहास र दीर्घकालीन सोच राखेरै अस्थायी राजधानी तोकेको दाबी गरे। नेपालको एक महत्वपूर्ण आर्थिक नाका वीरगञ्ज भन्सार नजिक पर्ने, धेरै क्षेत्रीय कार्यालयहरू रहेको, पूर्व पश्चिम राजमार्गको मेरुदण्ड भएकाले पनि हेटौंडा उपयुक्त भएको उनको भनाई थियो।

प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले भौगोलिक, सामाजिक र सांस्कृतिक आधारमा काभ्रे जिल्ला उपयुक्त हुने धारणा राखे। प्रदेशको नाम राख्ने विषयमा धेरै विवाद बहस भइरहेको सन्दर्भमा पहिचानको आधारमा नामाकरण हुनुपर्ने उनले बताए । पहिचानको मुद्दा उठाएर हजारौंले बलिदान दिएको भन्दै उनले प्रतिवेदन राम्रोसँग अध्ययन गरी निर्णय गर्न पनि आग्रह गरे।

प्रदेश सभा सदस्य विशाल खड्काले प्रतिवेदनमा उल्लेख भएका विषयहरू राम्रोसँग अध्ययन गर्न आग्रह गरे । भोलीको पुस्ताले गाली गर्ने गरी निर्णय गर्नुभन्दा सबैलाई जवाफ दिन सक्ने गरी निर्णय गर्नुपर्ने उनको मत थियो।

प्रदेश सभा सदस्य नरोत्तम बैद्यले अध्ययन समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा राजधानी तोक्न नसकिने धारणा राखे। किटानी गरी राजधानी राख्न उपयुक्त ठाउँ तोक्नुपर्ने भएपनि कार्यदलले त्यसो नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे। भक्तपुरमा राजधानी राख्दा संघीय सरकारले काम गर्न नदिने भन्दै उनले सबै हिसाबबाट काभ्रे उपयुक्त हुने धारणा राखे ।

प्रदेश सभा सदस्य पुकार महर्जनले नेकपा सचिवालयले राजधानी र नामका विषयमा आफ्ना सदस्यहरूलाई गरेको निर्देशन संविधानको भावना विपरीत भएको बताए। प्रदेश सभाको अधिकार नेकपाको सचिवालयलाई दिनुले देशमा परिवर्तन भएपनि नेताहरूको सोचमा परिवर्तन नभएको प्रष्ट भएको उनको भनाइ थियो।

प्रदेशसभा सांसद हिरानाथ खतिवडाले नुवाकोट राजधानी हुनुपर्ने माग राखे। समितिले ५ जिल्लाहरू राजधानीका लागि सिफारिस गरेपनि नेपाल एकीकरणको विरताको थलो नुवाकोट भएकाले त्यहाँ राजधानी हुनुपर्ने उनले बताए। रसुवा धादिङ र चितवनलाई नुवाकोट पायक पर्ने र सिन्धुपाल्चोकसँग सीमाना जोडिएको मध्यपहाडी लोकमार्गले मेलम्चीसँग जोड्ने भएकाले पनि नुवाकोट उपयुक्त हुने उनको तर्क थियो । सबै राजधानीहरु भारतको सीमासँग नजिक भएको भन्दै उनले प्रदेश नम्बर ३ को राजधानी चीनसँग नजिक किन नराख्ने भनि प्रश्न गरे।

प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले प्रदेशको नाम र राजधानी पहिचानका ५ र सामर्थ्यका ४ आधारमा तोकिनुपर्ने बताए। पूर्वाधारको विकासको अवस्था, प्राकृतिक स्रोतको सम्भावना, प्रशासनिक सुगमता लगायतका विषयहरूको अध्ययन गरी राजधानीको विषय टुंगिनुपर्ने उनको धारणा थियो ।

प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईंले काभ्रे राजधानी हुनुपर्ने माग राखे । आफ्नो जिल्ला भनेर मात्रै काभ्रेलाई आफुले सिफारिस नगरेको भन्दै उनले सिन्धुपाल्चोक र दोलखालाई पनि काभ्रे नै पायक पर्ने दाबी गरे । भोलिका सन्ततीले गाली गर्ने वातावरण नबनाउन आग्रह गर्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्न सबै सदस्यहरूसँग आग्रह गरे।

प्रदेश सभा सदस्य विजया श्रेष्ठले देउवा नेतृत्वको सरकारले हेटौंडा अस्थायी राजधानी राख्ने निर्णय गरेको भएपनि नेकपा सचिवालयले २ वर्षपछि गरेको निर्देशन संविधानको भावना विपरित भएको बताइन्। नेकपा सचिवालयले दिएको निर्देशन संविधानको मर्मविपरीत रहेको भन्दै उनले बृहत छलफल गरेर पक्ष विपक्षका सांसदहरु एक भएर निर्णय गर्नुपर्ने बताइन् । हेटौंडा नै प्रदेशको राजधानीका लागि उपयुक्त भएको उनको भनाई थियो।

प्रदेश सभा सदस्य गीता वाग्लेले मेरो घरको डिलमै राजधानी लग्न पाए हुन्थ्यो भन्ने मानसिकताबाट टाढा हुनुपर्ने बताइन् । पार्टीबाटै प्रतिनिधि भएर आएपनि अनुशासनभन्दा बाहिर गएर जे पनि बोल्न नपाईने उनको भनाई थियो।

प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले प्रदेशसभाले गर्ने निर्णयमा नेकपा सचिवालयले हस्तक्षेप गरेको भन्दै चिन्ता व्यक्त गरे। प्रधानमन्त्री केपी ओलीले देउवा सरकारले गरेका सबै निर्णय फेर्ने बचन दिएको बताउँदै उनले देउवाले नै तोकेको राजधानी पनि फेर्न चेतावनी दिए। सचिवालयले ह्वीप जारी गर्नुले राणा र राजा फर्किने हो की भन्ने चिन्ता लागेको उनको भनाई थियो । प्रदेशको राजधानी सबै हिसाबले भक्तपुर उपयुक्त हुने उनको दाबी थियो।

प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङले सिन्धुपाल्चोकको पेम्बाथानबाट जुगल आउन २ दिनको समय लाग्ने र त्यहाँबाट हेटौंडा आउन १ दिन लाग्ने भएकाले राजधानी कायम गर्दा त्यहाँका जनताको अवस्था बुझ्न पनि आग्रह गरिन्।

प्रदेश सभा सदस्य विजय सुवेदीले नेकपाको सचिवालयमा राजधानी र नामका विषयमा छलफल भएकोमा कोकोहलो गर्नुपर्ने आवश्यकता नरहेको बताए। अन्तिम निर्णय गर्ने अधिकार प्रदेश सभामा निहित रहेको भन्दै उनले कुनै दलको छलफलमा आपत्ति जनाउन नहुने तर्क गरे ।

प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलले काभ्रेले ७७ प्रतिशत जनतालाई प्रतिनिधित्व गर्ने भएकाले राजधानी त्यहाँ नै हुनुपर्ने तर्क गरे। मकवानपुरले २३ प्रतिशत जनता र २९ प्रतिशत भुगोलको प्रतिनिधित्व गर्ने उनको भनाई थियो ।

सांसद चन्द्र लामाले काभ्रेमा राजधानी राख्न हावापानी र भौतिक संरचनाका दृष्टिकोणले सबै भन्दा उपयुक्त हुने बताए।

प्रदेश सभा सदस्य गोमा भूर्तेलले पनि काभ्रे जिल्ला नै राजधानीका लागि उपयुक्त हुने बताइन् ।

प्रदेश सभा सदस्य रमा आलेमगरले जनताको सेवा सुविधा सर्वसुलभ ढंगले दिन सकिन्छ कि सकिँदैन भन्ने कुरालाई मध्यनजर गर्दै राजधानी तोक्न आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्