अमेरिका-इरान तनावः खाडीमा १० लाख नेपाली प्रभावित

काठमाडौं। अमेरिका-इरान द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करीब १० लाख नेपाली असुरक्षित देखिएका छन्।

इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको आजको नागरिक दैनिकले समाचार लेखेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि यूएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्।

“अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला की भन्ने अपेक्षा गरेका छौं”, उनले भनिन्, “अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्दार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।”

हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।

यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत् रहेको नेपाली दूतावासले जनाएको छ।

यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करीब ४५ लाख पुगेको छ।

रोजगारीमा जानेमध्ये करीब ९० प्रतिशत खाडीका छ मुलुक (युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया) तथा मलेसिया जाने गर्छन्।

विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन्।

वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्