नेकपामा संविधान संशोधन बहस, सभामुखबारे उल्झन बढेपछि बेग्लै मोर्चाबन्दी
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस शुरू भएको छ।

केकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूलाई राष्ट्रिय सभामा जान प्रस्ताव गरेपछि नेता वामदेव गौतमले संविधान संशोधन गर्नुपर्ने सर्त राखेका थिए।

उनी प्रतिनिधि सभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।

संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ।

यो धाराअनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने छैनन्।

तर, नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्।

नेता गौतमकै निवास भैंसेपाटीमा २३ पुसमा भएको छलफलमा सहभागी प्रधानमन्त्री ओलीइतरका नेताले गौतमले उठाउँदै आएको विषयमा पुनः प्रधानमन्त्रीसँग नीतिगत छलफल गर्ने समझदारी बनाएको एक नेतालाई उद्धृत गर्दै आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

आजको कान्तिपुर दैनिकले सभामुख चयनबारे उल्झन बढेपछि ओलीइतरका नेताहरूले मोर्चाबन्दी शुरू गरेको समाचार लेखेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा छलफल र परामर्श तीब्र पारिएको हो।

त्यसको पछिल्लो संस्करण हो- नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटीमा भएको छलफल।

“सभामुख पार्टी एकताको समीकरणमा असर नपर्ने गरी छान्नुपर्छ भन्ने विषयमा एकमत छौं”, छलफलमा सहभागी एक नेताले भने, “त्यसो हुँदा प्रधानमन्त्रीजीले आफ्नो अडान छाड्नुपर्छ।”

बैठकमा गौतमबाहेक अरु नेताले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने दाहालको कुरामा समर्थन जनाएको कान्तिपुरमा लेखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्