ऊर्जामन्त्री पुनले गरे नवीकरणीय ऊर्जामा सहकार्यको प्रस्ताव
<p>युएई। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नवीकरणीय ऊर्जामा सहकार्यको प्रस्ताव गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जामन्त्री पुनले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेरासँगको भेटमा भविष्यमा नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन्।</p>
<p>भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे। उनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अपीलसमेत गरेका छन्। नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै मन्त्री पुनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे।</p>
<p>सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागतरूपमा काम गरिरहेको उनको भनाइ थियो।</p>
<p>महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना व्यक्त गरे। महत्त्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत क्यामेराले जनाए।</p>
प्रतिक्रिया दिनुहोस्