नाम र राजधानी टुंग्याउन प्रदेश ३ मा मतदान जारी

काठमाडौं। प्रदेश ३ को स्थायी राजधानी तथा नामको टुंगो लगाउन प्रदेश सभा बैठकमा अहिले मतदान प्रक्रिया जारी छ।

प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्‍न प्रदेश सरकारले प्रस्ताव गरेको छ।

नाम र राजधानीसम्बन्धी उक्‍त प्रस्तावमा अहिले भइरहेको प्रदेश सभा बैठकमा सांसदहरूले छलफल गरिरहेका छन्।

प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ।

प्रदेश ३ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक्लैको दुई तिहाइभन्दा बढी मत छ।

नेकपा सचिवालयको बैठकले प्रदेश ३ को नाम वागमति र राजधानी हेटौंडा राख्‍न निर्देशन दिए अनुरुप नेकपा प्रदेश ३ संसदीय दलको बैठकले त्यसैलाई निर्णय गरिसकेको छ।

प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्न सहमत भएपछि आजको बैठकमा मतदानको कार्यसूची तय गरिएको हो।

प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाका ८०, नेपाली काँग्रेसका २२, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर पार्टीका दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र सांसद छन्।

२६ पुसमा बसेको बैठकमा सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा प्रस्ताव गरेका छन्।

त्यस्तै विवेकशील पार्टी र स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्