बूढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच डेढ घण्टा बैठक, असमझदारी हटाउने सहमति

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर असन्तुष्ट नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्।

महामन्त्री पूर्णबहादुर खड्कासमेत सहभागी बैठकले पार्टीमा पछिल्लो समय देखिएका असमझदारी हटाएर अगाडि बढ्ने सहमति गरेको कांग्रेस नेता रमेश लेखकले देखापढीलाई बताए।

आफूहरूले बहिष्कार गरेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको महाधिवेशन एक वर्ष पछि सार्ने निर्णय गरिएपछि नेताद्वय पौडेल र सिटौलाको समूह सभापति देउवासँग असन्तुष्ट बनेका थिए।

संस्थापन पक्षसँग असन्तुष्ट समूहले जिल्ला सभापतिहरूको छुट्टै भेला गरेर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन मागसमेत गरेका थिए।

पछिल्लो समय पार्टीभित्रको असन्तुष्टि बढ्दै गएपछि सभापति देउवाले असन्तुष्ट दुवै नेतालाई आज साँझ छलफलका लागि आफ्नै निवासमा डाकेका थिए।

साँझ साढे ६ देखि ८ बजेसम्म देउवा निवासमा बसेको बैठकले मिलेर जाने समझदारी गरेको हो।

नेता पौडेल भोलि भारतको राजधानी नयाँ दिल्ली जाँदैछन्। उनी त्यसतर्फ लाग्नुअघि नै सहमति जुटाउने उद्देश्यसहित देउवाले बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्