पाम तेलको आयात खोल्ने भारतको संकेत

काठमाडौं। भारतले पाम तेलको आयात खोल्ने संकेत दिएको छ।

भारत सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पाम तेलको आयात खोल्ने संकेत दिएको हो।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय वैदेशिक व्यापार नीति संशोधन गर्दै कुनै पनि देशबाट पाम तेलको आयात गर्न नपाउने व्यवस्था गरेको थियो।

लगत्तै नेपाल सरकारले त्यसको निकासी खुलाउन निरन्तर पहल गरेपछि भारतले आयात खोल्ने संकेत गरेको छ।

“अबको केही दिनमै पाम तेलको आयात खोल्ने संकेत त दिईसकेको छ तर भारत सरकारले लाइसेन्स दिएका व्यवसायीहरूले मात्रै आयात गर्न पाउने व्यवस्था गर्ने सम्भावना बढ्दै गएको छ।” - आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालले भारतीय समकक्षी अनुप बधावनसँग पाम आयलको निकासी खुलाउन टेलिफोन वार्ता गरिसकेका छन्।

“उद्योग मन्त्रालयले भारतीय पक्षलाई कुन कानूनका आधारमा टेकेर पाम तेलको आयात रोकेको भनेर प्रश्न समेत गरेको छ”, मन्त्रालयका एक कर्मचारीले भने, “जवाफमा भारतीय पक्षले केही दिनमा आयात फुकुवा गर्ने वाचा गरेको छ।”

यसअघि भारतीय पक्षले परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयलाई आयातीत पाम तेलमा ‘कति प्रतिशत मूल्य वृद्धि भई भारत निकासी भईरहेको छ ?’ भन्दै प्रश्न गरेको थियो।

लगत्तै मन्त्रालयले पाम तेलमा भएको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन गरेको थियो।

समितिले नेपालमा उत्पादन नै नहुने पाम तेलमा ३० प्रतिशतभन्दा बढीको मूल्यवृद्धि भएको निस्कर्षसहित भारतीय पक्षलाई जवाफ दिएको थियो।

३० प्रतिशतभन्दामाथिको मूल्यवृद्धि भएको पाइएपछि मन्त्रालयले भारतलाई नेपाल भ्रमणका लागिसमेत निम्तो दिएको थियो।

तर, साउथ एसियन ट्रेड एग्रीमेन्ट (साफ्टा) को नियमअनुसार नै निकासी गर्दा पनि रोक लगाइएपछि मन्त्रालयले प्रश्न सोधेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पाम तेलको निकासी खोल्ने संकेत भारतबाट आइसकेको बताए।

“अबको केही दिनमै पाम तेलको आयात खोल्ने संकेत त भारतले दिईसकेको छ”, उनले भने, “तर, भारत सरकारले लाइसेन्स दिएका व्यवसायीहरूले मात्रै त्यसको आयात गर्न पाउने व्यवस्था गर्ने सम्भावना बढ्दै गएको छ।”

वाणिज्य सचिव बैकुण्ठ अर्यालले भारतीय पक्षले पाम तेलको निकासी खोल्ने अनौपचारिक जवाफ पठाइसकेको बताए।

उनले नेपाली पक्षले निकासी खोल्न गरेको पहललाई आधार मानेर उता (भारत) बाट सकारात्मक जवाफ आएको बताए।

सोहीकारण, अर्यालले अबको केही दिनमै आयात खुलाउने विश्वास व्यक्त गरे।

पछिल्लो समय नेपालमा उत्पादननै नहुने पाम तेल नेपालको प्रमुख निर्यातजन्य वस्तुको रूपमा उदाएको छ।

तर, मलेसियासँग बिग्रेको सम्बन्धका कारण भारतले यसको सम्पूर्ण आयात बन्द गर्ने निर्णय गरेको थियो।

कास्मिर मुद्धामा मलेसियाले भारतको विरोध गरेपछि भारत सरकारले मलेसियालाई लक्षित गर्दै पाम तेलको आयात बन्द गरेको हो।

तर, मलेसिया लक्षित भारतको वैदेशिक नीतिले नेपाललाईसमेत असर गरेको छ।

प्रतिक्रिया दिनुहोस्