द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसका शीर्ष नेताबीच सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताबीच द्वन्द्वकालीन मुद्दा टुंग्याउने विषयमा सहमति भएको छ।

सातै प्रदेशमा २८ पुसमा भएको छलफलमा उठेका सुझावका आधारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार सो विधेयक संसदबाट पारित गरेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने शीर्ष नेताबीच सहमति भएको हो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शीर्ष नेताबीच छलफल भएको थियो।

छलफलमा आयोगका पदाधिकारी नियुक्तिका विषयमा पनि सहमति भएको छ। सिफारिस समितिको बैठक बसिरहेको र सिफारिस समितिले ल्याएका नाममा सहमति गरेर अगाडि जाने सहमति भएको प्रेस सल्लाहकार थापाको भनाइ छ।

छलफलमा सत्तारूढ दलका तर्फबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता खीमलाल देवकोटा, प्रमुख प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक थिए।

प्रतिक्रिया दिनुहोस्