भीमफेदी-कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

काठमाडौं। काठमाडौं-हेटौंडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गर्न वाग्मती प्रदेश सरकार अग्रसर भएको छ।

प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ।

सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ।

सुरुङमार्ग निर्माणको अनुमति पाएको निजी क्षेत्रका नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले अहिलेसम्म काम नगर्दा प्रदेश सरकारले अग्रसरता देखाएको हो।

२०६९ सालमा सुरुङमार्गको शिलान्यास गरिएको थियो। अहिलेसम्म सो कम्पनीले सुरुङमार्ग निर्माणको आर्थिक स्रोतको आधार नै पेस गर्न सकेको छैन।

नेपाल पूर्वाधार विकास कम्पनीले सो सुरुङमार्ग निर्माण गर्ने गरी वैशाख २०६९ मा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको जानकारी दिए।

उनले भने, “डीपीआर निर्माणको काम अन्तिम चरणमा छ, चैतसम्म डीपीआरको काम सकिन्छ। डीपीआर सकिनेबित्तिकै निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाइन्छ।”

अहिले बोलपत्र आह्वानका लागि तयारी भइरहेको आजको गोरखापत्रमा समाचार छ।

“सुरुङमार्गको डिजाइन प्रमाणित भएपछि निर्माणका लागि बोलपत्र आह्वान गरिन्छ”, मुख्यमन्त्री पौडेलले भने।

चिनियाँ र नेपाली परामर्श कम्पनीले संयुक्त रूपमा ‘डीपीआर’ को काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्