मुख्यमन्त्री राईको मन्त्रीहरूलाई निर्देशन– ‘आत्तिने, मात्तिने र अयोग्य हुने छुट छैन’

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनतामाझ नतिजा देखिने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

उनले मन्त्रीसहित नयाँ नियुक्त भएका राज्यमन्त्रीहरूलाई प्रदेशको विकास र समृद्धिको चाहनालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।

विवादास्पद निर्णय गर्नबाट सचेत रहन भन्दै मुख्यमन्त्री राईले ‘आत्तिने, मात्तिने र अयोग्य’ हुने छुट नभएको बताए।

आफूले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अख्तियार गरेको भन्दै कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन राईको निर्देशन छ।

‘महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरूको अग्निपरीक्षा शुरू भयो, यो ऐतिहासिक कार्यभार सफल रूपमा वहन गर्नुहोला’, मुख्यमन्त्री राईले मन्त्रीहरूलाई भने।

दुई दिनभित्र स्पष्ट कार्यविभाजन गरेर काम थाल्न राईले निर्देशन दिएका छन्।

३ फागुन २०७४ मा पहिलोपटक पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री राईले दुई वर्ष पुग्न लाग्दा ५ माघमा चारजना राज्यमन्त्री थप गरेका छन्।

प्रतिक्रिया दिनुहोस्