ओली-मोदीले गरे एकीकृत जाँच चौकीको उद्घाटन
काठमाडौं। प्रदेश १ को मोरङमा निर्माण गरिएको एकीकृत चेक जाँच चौकी (आईसीपी) को प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडिओ कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन्।

आज सिंहदरबारबाट प्रधानमन्त्री ओली र नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

आईसीपीको उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिएका छन्।

भ्रमणका क्रममा दुई देशको उपलब्धीको समीक्षा गर्दै अझ अगाडी बढ्न योजना बनाउने अवसर मिल्ने ओलीले बताए।

नेपाल भारतबीचका थाती रहेका सबै विषय आपसी संवादबाट हल गर्दै जाने प्रधानमन्त्री ओलीले बताए।

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा अन्य क्षेत्रमा पनि सुविधासम्पन्न चेकपोस्ट विस्तारमा सहयोग गर्ने बताए।

नेपाल भारतबीच सहज आवागमन हुँदा त्यसको विकासमा पनि योगदान पुग्ने मोदीले बताए।

“छिमेकी पहिलो प्राथमिकता भन्ने हाम्रो सरकारको नीति छ। नेपालको चौतर्फी विकासमा भारतको महत्वपूर्ण सहयोग रहनेछ”, भिडिओ सम्बोधनमा मोदीले भने, “सडक, रेल र ट्रान्समिशन लाइनको विकासका काम पनि गर्न आवश्यक छ। नयाँ वर्षसँगै शुरू भएको नयाँ दशकमा यस क्षेत्रमा ध्यान दिनेछौं।”

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १२९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ।

जाँच चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र शुरू भएको थियो।

एक अर्ब १४ करोड भारतीय रूपैयाँमा आइसीपी निर्माण भएको हो।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट शुरू भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ।

जाँचचौकी सञ्चालनमा आउँदा पर्यटकीय तथा मालबाहक सवारी जाँचमा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्