सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ माघमा घोषणा हुने

काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा नेकपा नेता अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन्।

संसद सचिवालयमा आज उनको मात्रै उम्मेद्वारी परेपछि १२ माघ दिउँसो बस्ने प्रतिनिधि सभा बैठकबाट उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन्।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलमध्ये नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उम्मेद्‌वारी नदिएपछि नेकपाका उम्मेद्‌वार सापकोटा निर्विरोध निर्वाचित हुने भएका हुन्।

संसद सचिवालयले प्रकाशन गरेको उम्मेद्‌वारको अन्तिम नामावलीमा सापकोटाको मात्र नाम छ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राजपाका सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामुख ओनसरी घर्ती रहेका छन्।

६२ वर्षीय सापकोटा तत्कालीन् वाम गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकबाट कांग्रेस नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका थिए।

सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रूपमा चिनिन्छन्। सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्