के नोबेल कोरोना भाइरस नेपाल भित्रिइसक्यो ? यसबाट कसरी जोगिने ? (भिडिओसहित)

काठमाडाैं। गएको हप्ता चीनको वुहान प्रान्तबाट फर्केका एक नेपालीमा भाइरसको संक्रमण देखियो। तर, उनलाई ठ्याक्कै के भएको हो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य परीक्षणका लागि सिधा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पुगे । अस्पतालमा रगतको नमूना दिएर घर फर्के। उनमा कोरोना भाइरसको संक्रमण भएको चर्चा चारैतिर फैलियो।

वुहानबाट फर्केका उनलाई कोरोना भाइरस संक्रमण भएको हो वा होइन ? हो भने यो कुन भाइरस हो ? अथवा यो कस्तो किसिमको भाइरस हो भन्नेबारे अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ।

के नेपालमा कोरोना भाइरसको भित्रिइसकेको हो ? अनि यो कति खतरनाक भाइरस हो ? यो भाइरस मानव शरीरमा कसरी सर्छ ? यी र यस्ता सवाल अहिले आम सवाल बन्नपुगेका छन्।

अहिले चर्चा भइरहेको यो भाइरस एक किसिमको ‘विषाणु’ हो । यो विशेषगरी जनावरबाट मानिसमा सर्ने ‘जुनोसिस’ किसिमको भाइरस हो ।

२००३ मा चीनमा देखापरेको भाइरस विरालोबाट सरेको मानिन्छ। त्यसबेला संक्रमित व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । त्यसक्रममा निमोनिया भएर कैयौंको मृत्युसमेत भएको थियो। अर्थतन्त्रमै धक्का लागेको थियो।

चीनको वुहान राज्यमा देखिएको ‘नोबेल कोरोना भाइरस’बाहेकका मानिसमा सर्ने अन्य ६ वटा भाइरसहरु पहिचान भइसकेका छन् । नोबेल कोरोना भाइरस सहित यसका ७ प्रकार छन्, जसले मानव शरीरमा प्रवेश गरेपछि शुरुमा सामान्यतः रूघाखोकी जस्ता समस्या ल्याउने गर्दछन्।

सन् २००३ मा चीनमा देखापरेको भाइरस विरालोबाट सरेको मानिन्छ । त्यसबेला यसको संक्रमणमा परेका व्यक्तिहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । त्यसक्रममा साह्राे निमोनिया भएर कैयौंको मृत्युसमेत भएको थियो।

त्यसबेला यसलाई ‘सार्स’ नाम दिइएको थियो अर्थात् ‘सार्स कोरोना भाइरस ।’ त्यतिखेर चीनमा सावधानीका लागि हवाइ उडान रद्द गरिएका थिए । यसबाट ट्राभल र व्यापार मात्र होइन, अर्थतन्त्रमै धक्का लागेको थियो । संक्रमित आठ हजार व्यक्तिमध्ये सात सयभन्दा धेरैको मृत्यु भएको थियो । यो भाइरस अमेरिका, क्यानडा र युरोपसम्म पुगेको थियो ।

सन् २०१२ मा साउदी अरबमा पनि क्यामेल (ऊँट)बाट सर्ने भाइरस देखियो, जसलाई पछि ‘मर्स कोरोना’ भनियो । यो ऊँट अथवा ऊँटको दुधबाट संक्रमण हुने भाइरस हो ।

यी दुवै भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउने, निमोनिया गराउने, श्वास फेर्न गाह्रो बनाउने र त्यसबाट मृत्यु नै हुन सक्ने जोखिम निम्त्याउँछन् । अन्य कोरोना भाइरस ‘सिजनफ्लु’को रुपमा पनि फैलिएर आएका हुन्छन् ।

धेरैजसो कोरोना भाइरस सामान्य खालका हुन्छन् । २००३ को ‘सार्स कोरोना’ र २०१२ को साउदी अरबलगायत मध्यपूर्वमा फैलिएको ‘मर्स कोरोना’ भाइरसलाई भने खतरनाक मानिन्छ । ‘सार्स कोरोना’ भाइरसका बिरामीलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ ।

चीनमा देखिएको नयाँ ‘नोबेल कोरोना भाइरस’ले मानिसलाई कसरी संक्रमणमा पार्छ र यो मानिसबाट मानिसमा सर्छ कि सर्दैन भन्नेबारे अध्ययन भइरहेको छ। जानकारहरु यो भाइरस ‘फिस मार्केट 'बाट आएको बताउँछन् ।

यो भाइरसको संक्रमण कति चाँडो फैलिन्छ भन्नेबारे एकिन भन्न सकिने अबस्था नरहेको चिकित्सकहरु बताउँछन् ।

चीनमा देखिएको नयाँ किसिमको ‘नोबेल कोरोना भाइरस’ले मानिसलाई कसरी संक्रमणमा पार्छ र यो भाइरस मानिसबाट मानिसमा सर्छ कि सर्दैन भन्नेबारे अध्ययन भइरहेको छ । कोरोना भाइरस कति खतरनाक भाइरस हो भन्नेबारे अनुसन्धान हुनै बाँकी छ । जानकारहरु भने यो भाइरस ‘फिस मार्केट’ वा माछाबाट आएको बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रवक्ता, डा. अनुप बास्तोला भन्छन्, “कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म दुईजना व्यक्तिको मृत्यु भएको जानकारीमा छ ।”

अहिले कुनै पनि भाइरसको संक्रमण देखिएपछि यात्रामा प्रतिबन्ध लगाउने गरेको देखिन्छ । तर विश्व स्वास्थ्य संगठनले भने ट्राभल नै रोक्नुपर्ने वा त्यस ठाउँमा जानै नहुने भन्नेबारे केही स्पष्ट पारेको छैन ।

नेपालमा अहिलेसम्म नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको प्रमाणित भइसकेको छैन ।

“चीनबाट आएका मानिसमा कोरोना भाइरस भेटिएको भनेर जुन त्रास फैलाइयो, त्यो गलत हो” डा. बास्तोलाले भने, “यसबाट डराइहाल्नुपर्ने, आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” उनले चीनको वुहान प्रान्तबाट आएका मानिसमा रूघाखोकी छ भने चाहिँ एकपटक स्वास्थ्य परीक्षण गराउनैपर्ने सल्लाह दिए ।

नयाँ किसिमको यो भाइरस सार्स र मर्स प्रजातिकै हो या होइन भन्नेबारे विश्व स्वास्थ्य संगठन र चीनले समेत अध्ययन गरिरहेका छन् ।

के कोरोना भाइरस नेपाल भित्रिइसक्यो ?

धेरैलाई चिन्ता छ– नोबेल कोरोना भाइरस नेपालमा भित्रिइसक्यो कि ?

खुसीको कुरा के छ भने नोबेल कोरोना भाइरस अहिलेसम्म नेपालमा देखिएको छैन । ‘मर्स’ कारोना भाइरस भने जुनसुकै बेला भित्रिन सक्ने जोखिम छ ।

अरब र मध्यपूर्वका देशमा काम गर्न जाने नेपालीबाट त्यो भाइरस आउन सक्ने जोखिम उच्च छ । त्यस्तै जोखिम ‘सार्स’ कोरोना भाइरसको पनि छ । यी भाइरस मानिस या बस, हवाइजहाजबाट पनि भित्रिन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण र बच्ने उपाय

कोरोना भाइरसको संक्रमणको प्रमुख लक्षण हो– यसले ‘फ्लु’ जस्तै संकेतहरु लिएर आउँछ । श्वासप्रश्वासमा असर पर्छ । ब्रोङकाइटिस, निमोनिया समेत गराउन सक्छ । फोक्सोमा पानी जम्न सक्छ । र, त्यसबाट मानिसको मृत्यु पनि हुनसक्छ ।

संक्रमणकाे आशंका गरिएकाे व्यक्तिकाे रगतको नमूना लिएर नेपालमा सम्भव भए यहीँ र संभव नभए बाहिर पठाउने गरिन्छ। शंकास्पद बिरामीलाई ‘क्वारेन्टाइन आइसोलेसन’मा राख्नुपर्ने भए पनि नेपालमा त्यो सुविधा छैन । विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर नेपालमा हुन नसकेका जाँच ‘रिफ्रेन्स ल्याब’मा पुर्‍याएर परीक्षण गर्ने गरिएको छ ।

यसबाहेक छाती दुख्ने, फोक्सोमा समस्या आउने जस्ता लक्षणहरु देखिनसक्छन् । पखाला पनि लाग्नसक्छ, किनभने यसले आन्द्रामा पनि असर गर्छ । कोरोना भाइरसबाट डराइहाल्नुपर्ने अवस्था भने छैन ।

विशेषगरी श्वासप्रश्वासका कारणले सर्ने भएकाले ‘हात धुने’, ‘मास्क’ प्रयोग गर्ने लगायतका काम गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

उनीहरुका भनाइमा, मौसमी रूघाखोकीमा जस्तै साबुन पानीले हात धुनुपर्छ, कोरोना भाइरसबाट संक्रमित व्यक्तिले हाँछ्यु गर्दा भने रुमालको प्रयोग अथवा हातले ढाक्ने गर्नुपर्छ ।

नेपाल के गर्दैछ ?

नयाँ किसिमको कोरोना भाइरसलाई नेपालमा पनि सजगतापूर्वक लिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायहरुले शंकास्पद विरामीलाई बिरामीहरुलाई टेकु अस्पताल पुर्‍याउने गरेका छन् ।

उनीहरुको रगतको नमूना लिएर नेपालमा सम्भव छ भने यहीँ नै परीक्षण र उपचार गर्ने र नभए बाहिर समेत लैजाने गरिन्छ । शंकास्पद बिरामीलाई ‘क्वारेन्टाइन आइसोलेसन’मा राख्नुपर्ने भए पनि नेपालमा त्यो सुविधा उपलब्ध छैन । डा. बास्तोला क्वारेन्टाइन आइसोलेसनका लागि लागि प्रयास भइरहेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर नेपालमा हुन नसकेका जाँच ‘रिफ्रेन्स ल्याब’मा पुर्याएर समेत परीक्षण गर्ने गरिएको छ ।

अहिलेसम्म जाँच गर्न सक्ने ल्याबको क्षमता भएपनि आवश्यक पर्ने किटहरु नेपालमा उपलब्ध छैनन् ।

नयाँ किसिमका भाइरस भएकाले ‘प्राइमर’हरु डिजाइन गर्न, जनरल र स्पेसिफिक रुपमा डिजाइन उपलब्ध गराउन समय लाग्छ । यी कुरा उपलब्ध नभएकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहायता लिएर अध्ययन अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्