देउवाको कारण सभामुखमा उम्मेद्वारी नपरेको पौडेल पक्षको आरोप

काठमाडौं। सभामुख पदमा उम्मेद्वार नदिने संसदीय दलको निर्णयप्रति कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेल समूहले असन्तुष्टि जनाएको छ।

असन्तुष्ट नेताहरूले पार्टीबाट उम्मेद्‍वारी नपर्नुका पछि सभापति शेरबहादुर देउवाको सत्तारुढ दलसँग संवैधानिक निकायहरूमा भइरहेको ‘बार्गेनिङ’ लाई मुख्य कारण मानेका छन्।

उम्मेद्‍वार दिने की नदिने भन्ने निर्णय लिनुअघि वरिष्ठ नेता पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न उनकै निवास खुमलटार पुगेका थिए।

करीब एक घण्टा भएको कुराकानीको क्रममा पौडेलले उपसभामुखमा प्रतिपक्षलाई सहयोग गरेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका थिए। तर, दाहालबाट सकारात्मक जवाफ आएन।

खुमलटारबाट बाहिरिनासाथ पौडेललाई सभापति देउवाको फोन आएको थियो।

उपसभामुख प्रतिपक्षलाई दिन नेकपा सकारात्मक नभएको सन्देशसहित पौडेलले सभामुखकै उम्मेद्‍वारी दिनुपर्ने आफ्नो निष्कर्ष सुनाएका थिए।

देउवा भने संसदीय दलको बैठकअघि नै उम्मेद्‍वार नबनाउने निष्कर्षमा पुगेको आजको कान्तिपुरमा समाचार छ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेद्‍वारी नदिनुमा दुईवटा कारण उल्लेख गरेको छ।

पहिलो सत्तारुढ दलसँग यथेष्ट बहुमत छ। दोस्रो सभामुख तटस्थ रहनुपर्ने पद हो।

प्रतिक्रिया दिनुहोस्