उखु किसानको रकम: आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्

सर्लाही। उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानी नपाउँदा उखु किसान निराश भएका छन्।

किसानले लामो समयसम्म चिनी उद्योगबाट भुक्तानी नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए।

किसानको आन्दोलनपछि उद्योगीले सरकारसमक्ष माघको पहिलो हप्ता सम्पूर्ण रकम भुत्तानी गर्ने सहमति जनाएका थिए।

तर, विगत तीन वर्षदेखिको भुक्तानी नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानी दिएको छैन् ।

भुक्तानी नपाउँदा उखु किसानको समस्या कायमै छ ।

आन्दोलन गर्न काठमाण्डौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानी गरेको छ।

अन्नपूर्णले सरकारसँग यो पटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन्।

किसानलाई अघिल्ला वर्षहरुको भुक्तानी नदिँदा सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन्।

चिनी उद्योग सञ्चालन नहुँदा यहाँका किसान सख्खर बनाउने क्रसर उद्योगलाई कम मूल्यमा उखु बिक्री गर्न बाध्य छन्।

सरकारसँग सहमति भए पछि पनि पुरानो भुक्तानि नपाउँदा दुःख लागेको विष्णु गाउँपालिकास्थित बाराउद्योरणका उखु किसान अजित सिंहले बताए।

उनका अनुसार आन्दोलन गर्न काठमाण्डौं गएका किसानले पैसा पाए पनि अरुले पाएका छैनन्।

अन्नपूर्णले अझै किसानको २१ करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ।

सरकारसँग सहमित भएपछि जिल्लाको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह भने सञ्चालनमा आइसकेको छ।

यो उद्योगले पनि गत वर्षको किसानलाई पूरा भुक्तानी गरिसकेको छैन्।

उद्योगले अझै धेरै किसानको भुक्तानि दिन बाँकी रहेको उखु किसान समेत रहनु भएका गोडैता नगरपालिकाका प्रमुख देवानन्द रायले बताए।

महालक्ष्मीले किसानलाई अझै करीब १० करोड दिन बाँकी छ।

सरकारसँग सहमति भएपछि केही रकम भुक्तानी गरेका चिनी उद्योगीले बैङ्कबाट ऋण नपाउँदा सबै किसानको भुक्तानी दिन नसकिएको बताएका छन्।

सरकारसँग सहमति गरेर पनि पैसा नदिँदा किसान निराश भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

भुक्तानीका लागि किसानले पुनः आन्दोलन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। गोरखापत्रले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्