गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रूपान्तरण गर्न सकिन्छः स्वास्थ्यमन्त्री ढकाल

कैलाली। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्।

आज निर्माणाधीन मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै मन्त्री ढकालले मेडिकल कलेजलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा रूपान्तरण गरी नयाँ गतिका साथ लैजान सकिने बताएका हुन्।

निर्माणाधीन गेटा मेडिकल कलेजमै पुगेका उद्योग मन्त्री लेखराज भट्टले पनि स्वास्थ्य मन्त्रालयअन्तर्गत राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गरिदिन स्वास्थ्यमन्त्री ढकाललाई आग्रह गरेका थिए।

शुरूमा नीति तथा कार्यक्रम ल्याउँदा पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आएको स्मरण गर्दै मन्त्री भट्टले २०६८ मा संविधान सभा विघटन भएपछि प्रस्ताव जान नपाएको बताए। उनले काम नरोकियोस् भनेर समिति गठन गरी मेडिकल कलेजका रूपमा निर्माण थालिएको स्मरण गरे।

गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले भौतिक प्रगतिको बारेमा दुवैजना मन्त्रीलाई जानकारी गराएका थिए। उनका अनुसार अहिले मेडिकल कलेजको ६५ प्रतिशत भौतिक प्रगति भएको छ।

प्रतिक्रिया दिनुहोस्