अनुसन्धानकर्तालाई प्रश्न गर्दैछन्, आठ हजार वर्ष पहिलेका बच्चाहरू

काठमाडौं। मानव जातिको विकासक्रमबारे अध्ययन गर्नेमध्ये धेरैको विश्वास छ, अहिलेको मानव जातिको मूल अफ्रिकामा थियो। अफ्रिकामा उत्पत्ति भएका मानिस विभिन्न कालखण्डमा विभिन्न भूगोलमा पुगे। नयाँ–नयाँ ठाउँ पुग्दै गर्दा उनीहरूको रङ, आकृति, उचाईंमा परिवर्तन आयो।

उनीहरू कसरी एक आपसमा फरक हुँदै गए त ?

यो गाँठो फुकाउने काम भने त्यति सजिलो छैन। उद्विकाससम्बन्धी अनुसन्धान गर्ने अनेकन् वैज्ञानिकहरूले आफ्ना जीवनका बहुमुल्य क्षणहरू यस्तै गाँठो फुकाउन समर्पित गरेका छन्। र, समयक्रमसँगै नयाँ–नयाँ तथ्य पनि फेला पर्दै गएका छन्। त्यस्ता तथ्य फेला पार्न पछिल्लो समय डिएनएको अध्ययनले सघाएको छ।

हालै हावर्ड मेडिकल स्कुलका उद्विकाससम्बन्धी अनुसन्धान गर्ने आनुवंशिकी वैज्ञानिकहरू मार्क लिप्सन र डेभिड राइखले डिएनएकै सहायतामा नयाँ तथ्य फेला पारेका छन्।

उनीहरूले आजको मध्य अफ्रिकामा रहेका शिकारी समुदाय, दक्षिण अफ्रिकामा रहेका शिकारी समुदाय र आजका अरु सबै मानिसहरू करिब दुई लाख ५० हजार वर्षदेखि दुई लाख वर्ष पहिलेको बीचमा एक अर्काबाट छुट्टिएको निष्कर्ष निकालेका छन्।

यो निष्कर्षमा पुग्न उनीहरूलाई चारजना प्राचीन बच्चाका डिएनएले सघाएको हो। ती चारजना बच्चामध्ये दुई जना करिब आठ हजार वर्ष पहिलेका हुन् भने दुई जना करिब तीन हजार वर्ष पहिलेका।

यी दुई जोडीको डिएनए अध्ययन गर्दा वैज्ञानिकहरूले त्यो कालखण्डमा अर्को मानव समुदाय पनि उत्पत्ति भएको फेला पारेका छन्। वैज्ञानिकहरूको निष्कर्ष छ, त्यो मानव समुदायको वंशाणुगत चिन्हहरू आजका पश्चिमी र पूर्वी अफ्रिकीहरूमा पाइन्छ।

“यस्तो खालको मानव वंशको चारतर्फी विकास यसअघि डिएनएमार्फत् फेला परेको थिएन”, राइख भन्छन्।

यी बच्चाहरूको डिएनएनले उपलब्ध गराउने वंशाणुगत तथ्यहरूले मानव जातिका विभिन्न समुदायहरू करिब तीन लाख वर्ष पहिला अफ्रिकाका विभिन्न भूभागबाट विकास भएको देखाउँछ। विभिन्न महादेशमा फैलिँदै जाँदा यी मानव समुदाय एक अर्कामा मिसिँदै र समाहित हुँदै गए।

ती प्राचीन बच्चाहरूमा पाइने डिएनएमा भूमध्यरेखीय क्षेत्रका शिकारी समुदायको डिएनएको अंश फेला परेको छ।

यसअघि लण्डनको ‘फ्रान्सिस क्रिक इन्स्टिच्युट’का वैज्ञानिक पोन्टुस स्कोग्लुन्डले दुई लाख वर्षपहिले उत्पत्ति भएका मानव समुदाय भूमध्यरेखीय क्षेत्रका शिकारी समूह र पश्चिमी तथा मध्य सब–सहारा अफ्रिकाका मानिसको पूूर्वज भएको फेला पारेका थिए।

लिप्सन र राइखले गरेको अनुसन्धानले यही अध्ययनलाई थप पुष्टि गर्छ। ती प्राचीन बच्चाहरूमा पाइने डिएनएमा भूमध्यरेखीय क्षेत्रका शिकारी समुदायको डिएनएको अंश फेला परेको छ।

यी तथ्यहरू पढिरहँदा तपाईंको मनमा जिज्ञासा जाग्यो होला – ती प्राचीन बच्चा कहाँ फेला परे ?

ती बच्चा क्यामेरुनको उत्तरपश्चिममा रहेको शुम लाका नामक रक–सेल्टर (चट्टाने गुफा)मा फेला परेको थिए। त्यहाँ सन् १९८० र १९९० को दशकमा उत्खनन् भएको थियो। ती उत्खनन्ले करिब ३० हजार वर्ष पहिलेका शिकारी समुदायले प्रयोग गर्ने ढुंगे औजार फेला पारेको थियो। त्यो क्षेत्रमा करिब १८ वटा मानव अस्थिपञ्जर पनि फेला परेका थिए। तीमध्ये धेरैजसो बच्चाहरूका अस्थिपञ्जर थिए। कुनै आठ हजार वर्ष पहिले गाडिएका थिए भने कुनै करिब तीन हजार वर्ष पहिले।

लिप्सन र राइखले अनुसन्धानका लागि डिएनए लिएका बच्चाहरूमध्ये तीनजना केटा र एक केटी थिए। उनीहरू मर्ने बेलामा करिब चार वर्षदेखि १५ वर्षसम्म भएको वैज्ञानिकहरूले अनुमान गरेका छन्।

भाषाशास्त्रीय र पुरातात्विक प्रमाणहरूको आधारमा अनुसन्धानकर्ताहरू एउटा निष्कर्षमा पुगेका छन् – शुम लाका क्षेत्र समेटेको क्यामेरुनको भूभाग बान्टु भाषाको उद्गम हो। बान्टु भाषा अहिले धेरैजसो अफ्रिकीहरूको भाषा हो। अनुसन्धानकर्ताहरूको अनुमान छ, करिब चार हजार वर्ष पहिला बान्टु भाषा यो क्षेत्रमा विकास भयो र अफ्रिकी महादेशको दक्षिणी हिस्सामा फैलियो।

लिप्सन र राइखले गरेको अनुसन्धानले भने यो तथ्यलाई चुनौती दिएको छ। शुम लाकाका बच्चाहरूको डिएनएको अध्ययन गर्दा उनीहरू बान्टु भाषीसँग खासै नजिक नभएको देखिएको छ। यी बच्चाहरूमा पाइने डिएनएको दुई तिहाई हिस्सामा आजका पश्चिम अफ्रिकीहरूमा पाइने डिएनएकै अंश भेटिएको छ। र, यो डिएनएसँग मिल्ने पूर्वजहरूको पत्तो लागेको छैन। डिएनएको बाँकी हिस्सामा अहिले मध्य अफ्रिकामा बस्ने मानिसका पूर्वजकै अंश पाइएको छ। मध्य–अफ्रिकीहरू र बान्टुभाषीका पूर्वज फरक हुन्।अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्, आज अफ्रिकामा बान्टु भाषा बोल्नेहरूका पुर्खा शुम लाका क्षेत्रका होइनन्। उनीहरूको अनुमान छ, त्यतिबेला अफ्रिकाकै पश्चिमी र केन्द्रीय भागमा अरु मानव समुदाय पनि बस्ने गर्थे जसमध्ये केहीले बान्टु भाषा विकास गरे।

– साइन्स न्युजबाट

प्रतिक्रिया दिनुहोस्