निगमको अन्तर्राष्ट्रिय उडानका २५ पाइलटद्वारा सामूहिक राजीनामा (राजीनामासहित)

काठमाडौं। नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन्।

व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा-सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये ९ माघमा २५ जनाले सामूहिक राजीनामा दिएका छन्।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन्।

राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को-पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ। निगममा १३ विदेशी क्याप्टेन छन्। तर, क्याप्टेन र को-पाइलट दुवै नभई उडान गर्नै पाइँदैन।

निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।

"पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि अजेन्डाका रूपमा पेस गर्नेछु," निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने।

व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए।

सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए।

सामूहिक राजीनामा आउनु दु:खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए ।

तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएको एयरबस ३३० जहाजका क्याप्टेन श्रवण रिजालले बताए । निगम व्यवस्थापन सुधार हुनुपर्ने, साथै विदेशी पाइलट र नेपाली पाइलटको विभेद अन्त्य हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको रिजालले बताए।

"प्रक्रियाअनुसार जाने हो भने एक महीना अगाडि राजीनामा दिनुपर्ने नियम छ। तर, हामीले आन्दोलनस्वरूप तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हौँ," रिजालले भने।

निगमले विदेशी पाइलटलाई मासिक २३ लाख पारिश्रमिक दिने गरे पनि नेपाली क्याप्टेनलाई भने कम तलब दिने गरेको नयाँ पत्रिकाले समाचार लेखेको छ।

"नेपालीलाई पनि २३ लाख नै तलब दिनुपर्‍यो भन्ने हाम्रो माग होइन, नेपाली क्याप्टेन नै तयारी गरी विदेशीमाथि हुने फजुल खर्च रोक्नुपर्‍यो भन्ने हो," रिजालले भने।

प्रतिक्रिया दिनुहोस्