अनुगमन समितिद्वारा महोत्तरीका क्रसर उद्योग बन्द

महोत्तरी। अवैध उत्खनन् बढाएपछि क्रसर उद्योग सञ्चालनमा रोक लगाइने भएको छ।

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो।

उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले बताए।

जिल्लाका सबै स्थानीय तहलाई आ-आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको मौज्दात प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए।

महोत्तरीमा १५ स्थानीय तह छन्। उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमतिविनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ।

सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने निर्णय गरिएको छ।

चुरे पहाडी शृंखला र नदी एवं जग्गामा जथाभावी ठूला यन्त्र लगाएर बालुवा ढुंगाको अवैध उत्खनन् बढेको जन गुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा २ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन्।

अनुगमनका क्रममा करीब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले माग गरिएका कागजात उपलब्ध गराएनन्।

कागजात उपलब्ध नगराउने र उत्खनन् कार्य जारी राखेका उद्योगलाई पूर्णरुपले बन्द गराउने निर्णय गरिएको छ।

रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहतका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन्।

उद्योगले जथाभावी उत्खखन् गर्दा बनेका खाल्डामा परेर बर्षेनी मानवीय क्षतिसमेत हुँदै आएको छ।

अवैध उत्खनन् भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत २५ पुसमा हत्या गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्