आन्तरिक विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरू देउवा निवासमा
काठमाडौं। १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विवाद मिलाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आज बिहानदेखि छलफल भइरहेको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहानदेखि नेताहरूबीच छलफल भइरहेको  देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरू सिंह र सिटौलालगायत उपस्थित छन्।
बैठकमा आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल भइरहेको छ।
विवाद समाधानका लागि यसअघि उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक बसी सहमतिको प्रयास गरेका थिए।
यसअघि ८ माघ साँझ शीर्ष नेताबीच आज टुंगो लगाउने गरी सकारात्मक छलफल भएको थियो।
केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।
सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्