अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गर्ने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

द्वन्द्वकालमा व्यक्ति हत्याको आरोप लागेका सापकोटालाई सभामुख बनाउन नहुने मागसहित आफूले दिएको रिट दर्ता भइसकेको र आगामी आइतबार त्यसको पेशी तोकिएको त्रिपाठीले जानकारी दिए।

आफूले रिटमा पाँच वटा माग राखेको उनले बताए। उनका अनुसार रिटमा सापकोटालाई सभामुख चयन नगर्न, प्रतिनिधि सभाको सभामुख निर्वाचन प्रक्रिया अहिलेलाई रोक्न र सापकोटामाथि लागेको आरोपमा उनलाई गिरफ्तार गरेर अनुसन्धानका लागि प्रस्तुत गर्न माग गरिएको छ।

त्यस्तै आजसम्म पनि सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकृतहरूमाथिसमेत त्रिपाठीले कारवाहीको माग गरेका छन्। साथै सापकोटा संलग्न भएको भनिएको हत्या घटनाको अनुसन्धानका लागि विशेष कार्यदल गठन गर्न आदेश दिन पनि त्रिपाठीले माग गरेका छन्।

सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या भएको घटनामा संलग्न रहेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्