सापकोटालाई सभामुख बनाउने निर्णयमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आजै राष्ट्रपति भण्डारीलाई आफ्नो राजीनामा बुझाएका छन्।

प्रतिनिधि सभाको रिक्त सभामुख पदमा हत्याको आरोप लागेका सांसद अग्निप्रसाद सापकोटालाई चयन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा गरेको बुझिएको छ।

सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटामाथि द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ।

सापकोटालाई २०६८ सालमा झलनाथ खनालले आफ्नो मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्री नियुक्त गरेपछि हत्यामा संलग्न व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै प्याकुरेल लगायतले सर्वोच्च अदालतमा रिट हालेका थिए। उक्त रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेअनुसार ७ माघमा उम्मेद्वारी दिएका सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन्। उनलाई सभामुख निर्वाचित भएको औपचारिक घोषणा भने प्रतिनिधि सभाले १२ माघमा मात्रै गर्नेछ।

प्याकुरेलले भने कोही व्यक्ति विशेषका कारण भन्दा पनि आफ्नो सिद्धान्तप्रतिको निष्ठाका कारण आफूले राजीनामा दिएको बताए। उनले देखापढीसँग भने “मैले व्यक्ति विशेषका आधारमा नभइ आफ्नो सिद्धान्तमा आधारित भएर राजीनामा दिएको हुँ।”

राजीनामापछि प्याकुरेलले प्रेस वक्तव्य जारी गर्दै 'राजनीतिक दल गणतन्त्रलाई वलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिबृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ' भनेका छन्।

'लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो,' वक्तव्यमा छ, 'हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ।'

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्याकुरेललाई ९ चैत २०७४ मा राष्ट्रपतिको सल्लाहकारमा नियुक्त गरिएको थियो।

पढ्नुहाेस्

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया दिनुहोस्