भन्सारमा ‘क्यासलेस’ कारोबारः महानिर्देशक दाहाल

काठमाडौं। भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपाली भन्सारहरूमा नगद कारोबार बन्द भएको बताएका छन्।

विश्व भन्सार दिवसका अवसरमा भएको पत्रकार सम्मेलनमा उनले भन्सारहरूलाई ‘क्यास लेस’ बनाइएको बताएका हुन्।

पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत् हुने गरेको उनको भनाइ छ। “भन्सार क्यासलेस भएको छ। भन्सार प्रशासनले क्यास कारोबार गर्दैन”, दाहालले भने, “बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गरिरहेका छौं। यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ।”

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरूको अन्तरसमन्वयमा देखिएको समस्या हल गर्ने बताएका छन्।

यस्तै भन्सार विभागले राजस्व संकलन गर्न डिजिटल प्रणाली लागू गर्न लागेको छ। नेपालका अधिकांश स्थानमा बैंक सेवा पुगेकाले विभागले डिजिटल प्रणालीमार्फत् राजस्व संकलन गर्न लागेको हो।

अहिले विभागले ‘आसिकुडा वर्ल्ड’ (घरमै बसेर पनि प्रज्ञापन पत्र भरेर आफूले कारोबार गरेको वस्तु र मूल्यको घोषणा गर्न सकिने माेबाइल एप) पनि लागू गर्न लागिएको दाहाल बताउँछन्।

नेपालका प्रमुख भन्सार कार्यालयहरू अहिले आईसीपीतर्फ जाँदैछन्। यस्तै व्यवसायीहरूले भन्सारसम्बन्धी सूचना वा जानकारीहरू इमेल तथा टोल फ्रि नम्बरमार्फत् लिने सुविधा भन्सारले दिएको छ।

प्रतिक्रिया दिनुहोस्