एमसीसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ- नेकपा अध्यक्ष दाहाल

कावासोती। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन्।

नवलपुरको दलदलेमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसीसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताएका हुन्।

अन्य मुलुकमा एमसीसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताए। अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट गरे।

भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्शामा गाभेर प्रकाशित गरेको नक्शाले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुबै देशले समाधान निकाल्ने दाहालले बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने नेकपाको प्रमुख दायित्व रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्