अरुण तेस्रो आयोजनाको विद्युत गृहमा बम विस्फोट

काठमाडौं। संखुवासभामा निमार्णाधिन ९०० सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्‍ट पार्टीले बम विस्फोट गराएको छ।

चन्द समूहको एक समूहले चिचिला र मकालु गाउँपालिकाबीचको पुवाखोला केराबारी विद्युत गृह निर्माणस्थलको बन्दै गरेको कोलोनीमा प्रेसर कुकर बम विस्फोट गराएका हुन्।

गएराति साढे १० बजे गराइएको विस्फोटबाट पावर हाउस निर्माणको भारतीय ठेकेदार कम्पनी पट्टेल इन्जिनियर्सको नयाँ कोलोनीको ५०० केभी जेनेरेटरमा क्षति पुगेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।

बम विस्फोटबाट निर्माणाधिन कोलोनीको गारोमासमेत क्षति पुगेको छ। त्यहाँ भारतीय प्राविधिक र कर्मचारी टोली बस्दै आएको छ।

बम विस्फोटलगत्तै आयोजनास्थल नजिकै सुरक्षार्थ खटिएको नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ।

चन्द समूहको कोशी सगरमाथा ब्यूरो स्रोतले बम विस्फोट आफूहरुले गराएको देखापढीसँग बताएको छ।

"खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ पठाएका छौं।

खोजी तथा थप अनुसन्धानको कामलाई तीब्रता दिएका छौं", सहायक प्रजिअ घिमिरेले जानकारी दिए।

यसअघि पनि चन्द समूहले पटकपटक अरुण तेस्रो जलविद्युत आयोजनास्थलमा बम विस्फोटलगायतका गतिविधि गरी अवरोध पुर्‍याउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्