डीडीसीमा डेढ करोडको उत्पादन नै ‘गायब’
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रूपैयाँको विभिन्न उत्पादन ‘गायब’ भएको छ।

पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ८२ हजार ५०० मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो।

डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महीना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही नगरिएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

डीडीसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको छ। डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ।

यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार ५०० मूल्यको १६ हजार ५०० किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको ९०० किलो तयारी घिउ हिनामिना भएको छ।

अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रूपैयाँ, ठोस पदार्थको प्रतिकिलो ५७५ र तयारी घिउको बजार मूल्य करीब ८५० रूपैयाँ पर्छ।

डीडीसीका महाप्रबन्धक बैकुण्ठ अधिकारीले बालाजु आयोजनाबाट ‘केही उत्पादन ठूलो परिमाणमा कमी भएको’ अवस्थामा फेला परेको स्वीकार गरे।

“आन्तरिक लेखा परीक्षण विभागले बालाजु आयोजनाको भौतिक परीक्षण गर्दा पछिल्लो समयमा केही उत्पादन स्टकमा देखिएभन्दा कम फेला परेको हो”, महाप्रबन्धक अधिकारीले भने, “आलेपको प्रतिवेदन शतप्रतिशत सही छ। यसैका आधारमा हामी थप छानबिन गर्दै छौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्