कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका १५ दिन बन्द
काठमाडौं। चीनको वुहानमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्न थालेसँगै चीनसँग जोडिएको रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ।

मानिसको चहलपहल र ओहोरदोहोरले कोरोना भाइरसको संक्रमण नफैलोस भनेर कुनै पनि सवारीसाधन र मानिसलाई नेपाल-चीन आउजाउ गर्न रोकिएको हो ।

रसुवागढीमा दुवै देशका प्रहरी र अध्यागमन कार्यालयका प्रतिनिधिबीच १४ माघमा बसेको बैठकले आजदेखि १५ दिन नाका बन्द गर्ने निर्णय गरेको रसुवा प्रहरीका डीएसपी इन्द्र सुवेदीले बताए।

चीन प्रवेशको पास भएका रसुवावासीका लागि नाकाआसपासमै रहेका पसलसम्म किनमेलका लागि जान भने छुट दिइएको छ।

केरुङ जाने सडकमा हिउँ परेको, ढुंगा खस्ने खतरा रहेको र ल्होसार मनाउनुपर्ने भएकाले पनि नाका बन्द गरिएको जनाइएको छ ।

रसुवागढीमा ११ माघबाट हेल्थ डेस्क सञ्चालनमा ल्याइए पनि प्रभावकारी छैन।

दुई वर्षअघि नै टिनले बारेर बनाइएको हेल्थ डेस्कमा एकजना मात्र स्वास्थ्यकर्मी खटाइएको छ।

उनले चीनबाट आउने व्यक्तिको अनुहार हेर्दै हालखबर सोधेर मात्रै नेपाल छिर्न अनुमति दिँदै आएका छन् ।

"हेल्थ डेस्कमा म एक्लै छु । डेस्कमा न ल्याब छ, न ब्लडप्रेसर जाँच्ने मेसिन । ज्वरो नाप्न एउटा डिजिटल थर्मोमिटर मात्रै छ। यो हालतले कसरी चेकअप गर्नु ?" हेल्थ असिस्टेन्ट विजय घलेले भने,"‘संक्रमित हो की होइन थाहै हुँदैन । अनुहार हेर्ने, कुन ठाउँबाट आएको भनेर सोध्ने र पठाइदिने काम मात्रै भएको छ।"

चीन प्रवेशको प्रमुख नाका रसुवागढीमा प्रभावकारी हेल्थ डेस्क स्थापना गर्न स्वास्थ्य मन्त्रालय र विभागले चासो नदिएको आजको नयाँ पत्रिकामा समाचार छ।

जिल्ला सुरक्षा समिति रसुवाको अनुरोधमा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले एकजना हेल्थ असिस्टेन्ट खटाएर डेस्क सञ्चालन भएको घोषणा गरेका थिए।

तर, हेल्थ डेस्क प्रभावकारी नभएपछि नाका नै बन्द गर्ने निर्णयमा दुवै देशका अधिकारी पुगेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्