नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, यी छन् अजेण्डा

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि बस्दैछ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय कमिटी बैठक २१ महीनापछि बस्‍न लागेको हो।

यसअघि नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक ३ जेठ २०७५ मा बसेको थियो।

बैठक अहिलेलाई २० माघसम्मलाई निर्धारण गरिए पनि अजेण्डाको छलफलमा लाग्ने समयले बैठक लम्बिन सक्ने गरी तयारी गरिएको नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए।

उनले बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसकेको र सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जानकारी दिएका छन्।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार राष्‍ट्रिय सभा गृहमा तय गरिएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची छ।

प्रधानमन्त्री निवास बालुवाटारमा १४ माघ साँझ बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने विभिन्‍न छ वटा अजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्‍ठले बताए।

बैठकको शुरुमा शहीदप्रति श्रद्धाञ्जली र मौनधारण हुनेछ।

बैठक प्रारम्भसँगै प्रधानमन्त्रीले सरकारको काम र समसामयिक विषयमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीको सम्बोधनपश्चात अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने छन्।

महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान प्रतिवेदन पेश गर्ने छन् भने प्रदेश अध्यक्षहरुले आ-आफ्नो प्रदेशको रिपोर्टिङ गर्नेछन्।

राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा छलफल गर्न १५ वटा समूह बनाइएको छ।

अंग्रेजी वर्णानुक्रमअनुसार समूह सदस्य चयन गरिएको बताइएको छ।

सो समूह धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालय र बैठकस्थलमा छलफलमा जुट्ने छन्।

प्रतिक्रिया दिनुहोस्