सरकारमा सामेल हुने नहुनेबारे अलमलमा राजपा

काठमाडौं। सरकारमा सहभागी हुने नहुनेबारे राष्ट्रिय जनता पार्टी (राजपा) अलमलमा परेको छ।

अध्यक्षमण्डल सहभागी हुने र नहुने दुई पक्षमा विभाजित भएकाले राजपा रनभुल्लमा परेको हो।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा सामेल हुने पक्षमा छन्।

अध्यक्षमण्डल संयोजक महेन्द्र राय यादव र महन्थ ठाकुर भने सरकारमा सहभागी हुने नहुने अडानमा छन्।

पार्टीको नेतृत्वकर्ता नै सत्ता साझेदारीको विपक्षमा उभिएपछि तत्काल सरकार प्रवेशको सम्भावना नरहेको अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले बताए।

“संयोजक नै सरकारसँग नजिक हुन चाहनुभएको छैन, यसबारे उहाँले संसद्बाटै बोलिसक्नुभएको छ”, उनले भने, “उहाँ पार्टीको नेतृत्वकर्ता हो त्यसैले उहाँले जे बोल्नुभयो पार्टी त्यसरी नै अगाडि बढ्छ।”

गत साताको राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेकपा र राजपाबीच २ पुसमा तालमेल भएको थियो।

एक वर्षपछि जोडिएको यो सम्बन्ध तालमेलमा मात्र सीमित नभइ दुवै दलले प्रदेशदेखि केन्द्रसम्म साझेदारी गर्ने सहमतिसमेत आजको अन्नपूर्ण पोष्‍टमा समाचार छ।

सहमतिबमोजिम नै नेकपाका सभामुख उममेदवार अग्नि सापकोटालाई राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले समर्थन गरे।

तर अध्यक्षमण्डल संयोजक यादव भने उक्त कदमविरुद्ध उभिए।

संयोजक यादवको अनिच्छा संसद् बैठकमा समेत देखियो।

सभामुखलाई शुभकामना दिँदै उनले भने, ‘राजपा माग र मुद्दाका लागि निर्माण भएको हो, सत्ताका लागि होइन।’

प्रतिक्रिया दिनुहोस्