नेविसंघले एक वर्षपछि नेतृत्व पायो, ४८ वर्षीय राजिव ढुंगाना अध्यक्ष मनोनीत

काठमाडौं। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले झण्डै एक वर्षपछि नेतृत्व पाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिका पदाधिकारी नियुक्त गरेसँगै नेविसंघले नेतृत्व पाएको छ।

देउवाले सुनसरीका राजिव ढुंगानालाई नेविसंघको अध्यक्ष नियुक्त गरेका छन्। यसैगरी, काठमाडौंका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवरलाई महामन्त्रीमा नियुक्त गरेका छन्।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघमा नेतृत्व दिइएको कांग्रेसले जनाएको छ।

तदर्थ समितिमा रहेकाहरू आगामी केन्द्रीय महाधिवेशनमा उम्मेद्वार बन्न पाउने छैनन्।

समितिलाई आउँदो ६ महीनाभित्र नेविसंघको १२औं केन्द्रीय महाधिवेन गराइसक्ने कार्यभार दिइएको छ।

समितिले १२औं महाधिवेशनसम्म केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ।

२९ माघ २०७५ मा नेविसंघको तत्कालीन केन्द्रीय कार्यसमिति विघटन भएको थियो। १२औं महाधिवेशनमा २९ माघ २०७७ मा ३२ वर्ष उमेर ननाघेका व्यक्तिले मात्र भाग लिने पाउनेछन्।

हाल तदर्थ समितिको अध्यक्षमा मनोनीत भएका ढुंगाना भने ४८ वर्षीय हुन्। तदर्थ समितिका बाँकी पदाधिकारीहरू चाँडै नै मनोनयन गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्