कमल थापा भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी आयोग भागबण्डामा गठन हुनु दुर्भाग्यपूर्ण

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा राजनीतिक भागबण्डा हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्।

द्वन्द्वकालका जनधनको क्षतिको यथार्थ बुझ्न गठित सत्य निरूपण आयोग पनि राजनीतिक दलहरूको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको थापाले बताए।

थापाले यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पीडितले न्याय पाउनेमा शंका व्यक्त गरे।

राप्रपाले शहीदहरूको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे।

‘शहीदका सपना साकार पार्ने’ भनेर सरकारी दस्तावेजहरूमा ठूल्ठूला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको विपरीत हुने परिपाटीले शहीदहरूको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

शहीदहरूको सम्मान र परिवारको संरक्षणमा राज्यपक्षले यथोचित ध्यान नदिएको भन्दै थापाले आपत्ति प्रकट गरे।

हत्या, बलात्कार र जघन्य अपराधमा मुछिएका व्यक्तिहरू राज्यको उच्च ओहदामा पुग्नु दुःखद रहेको समेत राप्रपा अध्यक्ष थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्