केन्द्रीय कमिटीमा दिइने जवाफबारे छलफल गर्न नेकपा सचिवालय बैठक जारी

काठमाडौं। केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्‍न तथा सुझावको सम्बोधनबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्न तथा सुझावमा नेतृत्वले दिने जवाफबारे छलफल भइरहेको छ।

"सचिवालयले निकाल्ने निष्कर्षको आधारमा आजको बैठकमा कसले के जवाफ दिने भन्‍ने टुंगो लाग्‍नेछ", नेकपाका उपप्रमुख सूर्य थापाले देखापढीसँग भने।

सचिवालय बैठक बस्‍नुअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ।

राष्ट्रियसभागृहमा १५ माघबाट जारी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलपश्‍चात सबै समूह नेताहरूले सुझाव प्रस्तुत गरिसकेका छन्।

बैठकमा पेश गरिएका अजेण्डाहरूबारे छलफल गर्न १५ वटा समूह बनाइएको थियो।

आजको बैठक दिउँसो १ बजेदेखि शुरू हुनेछ। केन्द्रीय कमिटी बैठक सम्भवतः आजै सकिनेछ।

प्रतिक्रिया दिनुहोस्