राप्रपा महाधिवेशन २०७७ जेठमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन २५ जेठ २०७७ मा काठमाडौंमा हुने भएको छ।

राप्रपाको काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गरेको हो।

९ वटा निर्णय गर्दै १७ माघबाट शुरू भएको केन्द्रीय कार्यसमिति बैठक आज सकिएको छ।

बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरेको छ।

त्यस्तै महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरू सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्षरूपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरिएको छ। यसअघि विभिन्न अप्रत्यक्ष प्रणालीबाट चुनिने व्यवस्था थियो।

राप्रपाले एमसीसीका केही प्रावधानमा आपत्ति जनाएको छ। सम्झौता कार्यान्वयनको क्रममा नेपालको कानूनभन्दा माथि एमसीसी सम्झौता मान्य हुने व्यवस्था संविधानको भावना विपरीत भएको भन्दै त्यसलाई सच्याउन संसद र सरकारसँग आग्रह गरेको छ।

यस्तै कालापानीबाट भारतीय सेना तत्काल हटाउन पनि माग गरिएकाे छ। साथै विभिन्न भ्रष्टाचारका काण्डहरूको छानबिन गरी संलग्नलाई कारबाही गर्नुपर्ने राप्रपाकाे भनाइ छ।

राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान जस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लाहरूमा राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिनेछ।

चीनमा प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र संक्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधासहित उपचारको प्रवन्ध गर्न सरकारसँग राप्रपाले मागसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्