नेकपा बैठकमा राम कार्कीले भने- ‘चुनावमा लागेको खर्च दिने मान्छे पाए सांसद पद नै बुझाइदिन्छु !’

काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय कमिटी निकै ठूलो भएका कारण छलफलका लागि विभिन्न १५ वटा समूहमा छुट्याइएको थियो।

त्यसमध्ये १४ नम्बर समूहमा रहेका केन्द्रीय सदस्य राम कार्कीले १८ माघमा समूहको रिपोर्टिङ गरेका थिए। रिपोर्टिङकै क्रममा उनले निर्वाचन निकै महँगो भएको विषय उठाए। विषय मात्र उठाएनन्, त्यसक्रममा उनले सबैलाई सोँच्न बाध्य बनाउने धारणा पनि राखे।

त्यसक्रममा कार्कीले भने- “मेरो चुनावमा लागेको खर्च दिने कोही मान्छे पाए बरु सांसद पद नै उसैलाई बुझाइदिन्छु !”

कार्की तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। २०७४ सालमा सम्पन्न निर्वाचनमा उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार त्यसक्रममा कार्कीले चुनाव निकै महँगो भएको भन्दै निर्वाचन प्रणालीप्रति नै असन्तुष्टि जनाएका थिए। कार्कीको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले देखापढीसँग भने, “अहिलेकै प्रणाली र अवस्थामा चुनाव लड्न नसकिने भयो। चुनाव लड्दा लागेको खर्च दिने कोही पाए म सांसद पद उसैलाई बुझाइदिन्छु।”

बैठकमा अरु सदस्यहरूले समेत निर्वाचन खर्चबारे प्रश्न उठाएका थिए। निर्वाचन यस्तै खर्चिलो बन्दै जाने हो भने आउँदो निर्वाचनमा उम्मेदवार बन्न नसकिने उनीहरूको भनाइ थियो।

अध्यक्ष दाहालले भने- ‘तस्कर र ठेकेदारसँग पैसा लिनुपर्ने?’

केन्द्रीय सदस्यहरूले निर्वाचन खर्चबारे प्रश्न उठाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आज बैठक समापनका अवसरमा त्यसलाई सम्बोधन गर्ने प्रयास गरे।

केन्द्रीय सदस्यहरूले उठाएको विषय निकै गम्भीर भएको उनको भनाइ थियो।

“निर्वाचन प्रणाली नै भ्रष्टाचार बढाउने खालको छ, करोडौं खर्च गर्नुपर्ने र त्यस्तो खर्च तस्कर र ठेकेदारसँग लिनुपर्ने भएपछि चुनाव जितेपछि उठाउन लाग्नुपर्ने हुन्छ”, दाहालको भनाई उद्धृत गर्दै अर्का केन्द्रीय सदस्यले भने, “आगामी निर्वाचनसम्म अहिलेको निर्वाचन प्रणाली नै परिमार्जन गर्न आवश्यक देखिएको छ, हामी त्यसको पहल गर्छौं।”

प्रतिक्रिया दिनुहोस्