निरन्तर घट्दै वैदेशिक व्यापार, कहाँ कहाँ पर्छ असर ?

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०७६/७७ को शुरूका छ महीनामा नेपालको कुल वैदेशिक व्यापार दुई दशमलव २६ प्रतिशतले घटेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षको शुरुदेखि नै लगातार घटेको वैदेशिक व्यापार पुससम्म आइपुग्दा पनि सुधार हुन सकेन।

अघिल्लो वर्षको सोही अवधिमा नेपालले कुल सात खर्ब ६९ अर्ब ३४ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो। जसमा सात खर्ब २३ अर्ब ९३ करोडको आयात र ४५ अर्ब ४१ करोडको निर्यात भएको थियो।

तर, यस वर्षको असार मसान्तदेखि पुस मसान्तसम्मको अवधिमा दुई दशमलव २६ प्रतिशतले घटेर सात खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ।

“यस वर्षको शुरुदेखि नै औद्योगिक कच्चा पदार्थ, इन्धन र इनर्जी ड्रिंकको आयात घटेको छ। आयात घटेको र निर्यात बढ्न नसकेको कारण समग्र वैदेशिक व्यापार ओरालो लागेको छ।"- पूर्व वाणिज्यसचिव रविशंकर सैजु

यसअवधिमा नेपालले छ खर्ब ९४ अर्ब ६९ करोडको आयात गर्दा ५७ अर्ब २७ करोड रुपैयाँको निर्यात गरेको छ।

पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले अन्तर्राष्ट्रिय व्यापारमा आएको संकुचनको असर नेपालमा परेको बताए। उनले भने, “हाल विश्व व्यापार संगठन नै विभिन्न चूनौती र समस्यामा फसेको छ।”

यसका साथै, दक्षिण एशियाली व्यापार संगठन पूर्ण निस्कृय रहेको र बिम्स्टेक राम्रोसँग सञ्चालनमा नआउँदा नेपालको कुल वैदेशिक व्यापारमा त्यसको प्रभाव परेको उनको विश्लेषण छ।

असारदेखि भदौसम्म (दुई महिना)को वैदेशिक व्यापार स्थिर अवस्थामा थियो। त्यसबाहेक अन्य सबै महीनामा नेपालको कुल वैदेशिक व्यापार घट्दो अवस्थामा छ।

पहिलो महीना नौ दशमलव ३९ प्रतिशत, दोस्रो महीना स्थिर, तेस्रो महीना आठ दशमलव ८६, चौथो महिनामा पाँच दशमलव १६ र पाँचौ महीनामा दुई दशमलव ४२ प्रतिशतले कूल वैदेशिक व्यापार घटेको छ।

पूर्व वाणिज्यसचिव रविशंकर सैजुले विदेशबाट नेपालमा आयात गरिने वस्तुको परिमाण घट्दा कुल वैदेशिक व्यापारमा गिरावट आएको बताए।

उनले भने, “यस वर्षको शुरुदेखि नै औद्योगिक कच्चा पदार्थ, इन्धन र इनर्जी ड्रिंकको आयात घटेको छ।”

आयात घटेको र निर्यात बढ्न नसकेको कारण समग्र वैदेशिक व्यापार ओरालो लागेको सैजुको भनाई छ।

तर, यो गति वर्षभरि नै रहने सम्भावना न्यून रहेको उनी बताउँछन्।

के-के घट्यो?

नेपालको आयातमा ठूलो हिस्सा ओगट्दै आएको पेट्रोलियम पदार्थको आयात लगातार घटिरहेको छ।

त्यसैगरी, औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुँदै आएको स्टील र फलामको आयात घट्दा समग्र व्यापारलाई असर पारेको छ।

आयात घटाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित अर्थमन्त्रालयले विभिन्न वस्तुहरुको भन्सार दर बढाएको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनिकरण गर्ने योजनासहित इनर्जी ड्रिङ्क्सको आयातमा प्रतिबन्ध लगाएको छ।

नेपाल विद्युतमा आत्मनिर्भर हुँदै जाँदा इन्धनको आयात पनि घटेको देखिन्छ। लोडसेडिङ हटेपछि जेनेरेटर आयात पनि घटेको छ।

यस अवधिमा २२ अर्ब ८८ करोडले स्टील तथा फलामको आयात घटेको छ भने ११ अर्ब ९३ करोडले इन्धनको आयात घटेको छ।

चालू आवको पहिलो ६ महीनामा गत वर्षको सोही अवधिको तुलनामा फलाम र स्टीलको आयात २९ प्रतिशत, कोइलाको २८ प्रतिशत, एमएस बिलेट ४२ प्रतिशत, बोइलर मेशिनरीको आयात ४ प्रतिशतले घटेको छ।

आर्थिक वृद्धिमा असर

केन्द्रीय तथ्यांक विभागका अनुसार, गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार आधारभूत मूल्यमा २९ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।

तथ्यांकअनुसार, गत वर्षको जीडीपीमा कृषि क्षेत्रको योगदान करीव २८ प्रतिशत र व्यापार क्षेत्रको योगदान १५ प्रतिशत थियो।

यसरी, जीडीपीमा दोस्रो स्थानको योगदान गर्ने व्यापार क्षेत्रमा गिरावट आउँदा नेपालको आर्थिक वृद्धि नै प्रभावित हुने विज्ञहरु बताउँछन्।

आयातबाट चलिरहेको अर्थतन्त्रमा वैदेशिक व्यापार घट्दा राजश्व संकलनमा असर गर्ने हुँदा आर्थिक वृद्धिको लक्ष्यमा नकरात्मक प्रभाव पर्छ।

सेवा र उत्पादनमुलक उद्योग दुवै क्षेत्रमा लगानी गरेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान भने आयात घट्दै जानुलाई नेपालको अर्थतन्त्र सुधारको संकेतको रूपमा बुझ्नुपर्ने बताउँछन्।

उनले भने, “आयात कम हुँदा राजश्व संकलनको लक्ष्य पुरा नहुन सक्छ तर, आयात घट्नुले नेपालको अर्थतन्त्रमा हुन थालेको सुधारलाई बताउँछ।”

व्यापार घट्दा आयातमूखी अर्थतन्त्रबाट नेपाल उत्पादनमूखी अर्थतन्त्रतर्फ जाने उनले बताए।

लामो समयपछि आएको स्थिर सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन सके ओरालो लागेको वैदेशिक व्यापारको ग्राफ सुध्रिन सक्छ।

प्रतिक्रिया दिनुहोस्